उपचारपछि कांग्रेस नेता डा भण्डारी स्वदेश फर्किदै
काठमाडौं- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किने हुनुभएको छ ।
गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते हुनुभएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लाग्नुभएको हो ।
गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत हुनुहुन्थ्यो । कांग्रेस नेता माधव न्यौपानेका अनुसार डा भण्डारीको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आएको छ ।
पछिल्लो समयमा उहाँ बोल्ने र हिँड्नेसमेत गर्नुभएको छ । सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकला समेत गम्भीर घाइते हुनुभएको थियो । हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्