विद्यार्थीको हातमा मनलाग्दी पुस्तकहरु थमाउँदै निजी विद्यालय

विद्यालयबाटै शैक्षिक सामाग्री किन्नुपर्ने बाध्यताका कारण अभिभावकहरु थप आर्थिक भार बेहोर्न बाध्य

काठमाडौं- निजी विद्यालयहरुले सरकारको निर्देशनलाई अवज्ञा गर्दै अनिवार्य गरेको बाहेकका अतिरिक्त पुस्तकहरु पनि अध्यापन गराउँदै आइरहेका छन् ।

सरकारले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक शिक्षा लगायतका विषयलाई अनिवार्य विषयका रुपमा सूचीकृत गरेको छ । सामान्यतया सरकारी तथा नीजि विद्यालयहरुले यिनै विषयहरु मात्रै अध्यापन गराउनुपर्ने व्यवस्था छ ।

विद्यालयले थप विषय पठनपाठन गराउनुपूर्व पाठ्यक्रम विकास केन्द्रको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था छ । तर अधिकाँश निजी विधालयहरुले सो व्यवस्थाको अवज्ञा गर्दै आइरहेका छन् ।

नीजि विद्यालयहरुले थप गरेका विषयहरुमा छुट्टै परिक्षा लिने गरी अध्यापन गराउँदै आएका छन् । स्वीकृति दिएका बाहेकका कुनै पनि विषयहरु अध्यापन नगराउनु भन्ने निर्देशनसमेत केन्द्रले आफ्नो वेवसाइटमा राखेको छ ।

तर केन्द्रको निर्देशन पालनमा न नीजि विद्यालयहरु गम्भिर देखिएको छ न त सरकारी निकायले कार्यन्वयनमै तदारुक्ता देखाएका छन् । जसका कारण नीजि विद्यालयले अध्यापन गराउने अतिरिक्त पठ्यपुस्तकको भार व्यहोर्न विद्यार्थी र अभिभावक बाध्य भइरहेका छन् ।

शिक्षा जस्तो संवेदनशिल विषयमा देखिएको यो उदाशिनताले विधार्थी अभिभावक र समाजमा पर्ने र परिरहेको असरका बारेमा कुनैपनि पक्ष गम्भिर नदेखिनु चिन्ताको विषय भएको शिक्षाविदहरु बताउछन् ।

यता पाठ्क्रम विकास केन्द्र भने अनुमति विनाका पुस्तकहरुको अध्यापन भइरहेको भेटिए त्यस्ता पुस्तकहरुको प्रकाशन समेत बन्द गराउन सकिने बताउँछ । विधार्थीहरुलाई अतिरिक्त भार पर्ने भन्दै पाठ्यक्रम विकास केन्द्रले तोकेको वाहेकका पाठ्यपुस्तक पठनपाठ नगराउन दिएको निर्देशन अवज्ञा गर्ने विद्यालयहरुलाई कसरी कारबाहीको दायरामा ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको केन्द्रले जनाएको छ ।

नीजि विद्यालयहरुको मनोमानी यतिमा मात्रै सिमित छैन । विद्यार्थीहरुले अनिवार्य रुपमा आफ्नै विद्यालयबाट कापी, किताव, कमल, व्याग, पोषाक लगायतका शैक्षिक सामाग्रीहरु किन्नुपर्ने बाध्यता छ । यस्तो वाध्यताका कारण अभिभावकहरु चरम आर्थिक भार बेहोर्न बाध्य छन् ।

नीजि विद्यालयहरुप्रति अभिभावकको गुनासो बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले अनुगमन बढाएको बताएको छ । यस्ता कार्यलाई निरन्तरता दिए सम्बन्धन समेत खारेज गर्न सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

यसैबीच निजी प्रकाशान गृहले प्रकाशित गर्ने पाठ्यपुस्तकहरुको मूल्य ५० प्रतिशतको हाराहारीमा बढेको अभिभावकहरुले गुनासो गरेका छन् । नीजि विद्यालयहरुको मनोमानीका कारण आफूहरु बर्षौदेखि समस्या झेल्न बाध्य भइरहेको अभिभावकहरुको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.