एक लाख राशिसहित गण्डकीका सात सर्जक सम्मानित

कास्की- गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात जना स्रष्टालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले जनही रु. एक लाख राशिसहित गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका सस्कृतिकर्मी तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका अम्मर गुरुङ पोखरेली साथै गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङलाई सम्मान गरेको हो ।

त्यस्तै प्रतिष्ठानले लमजुङ निवासी गायिका माया गुरुङलाई रु. ५० हजार राशिसहित गण्डकी प्रज्ञा नारी सम्मान, स्याङजाका रङगकर्मी मोतिबहादुर कार्कीलाई रु.२५ हजार सहित गण्डकी प्रज्ञा युवा सम्मान तथा कास्कीकी साहित्यकार लक्ष्मी थापालाई रु. २५ हजार सहित गण्डकी प्रज्ञा प्रोत्साहन सम्मान पनि प्रदान गरेको छ ।

सम्मान प्रदान गर्नुहुँदै उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले प्रतिष्ठानले लोकसंस्कृति, कला तथा साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको बताउनुभयो । प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले कला, साहित्य तथा लोकसंस्कृतिको संरक्षणका लागि प्रतिष्ठानले भूमिका बढाउँदै जाने प्रतिबद्धता जनाउनुभयो ।

त्यस अवसरमा क्षत्री, गुरुङ, तामाङ तथा थारु समुदायमा प्रचलित विभिन्न झाँकी एवम् नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । प्रतिष्ठानले परम्परागत गीतको संरक्षणका साथै स्रष्टाको स्वास्थ्य बिमा कार्यको थालनी पनि गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.