गुल्मी प्रहरी कार्यालय परिसरमा पाँचवटा भवन उद्घाटन

गुल्मी- जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यालय परिसरमा पाँचवटा भवन निर्माण कार्य सम्पन्न भएका छन् । कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, ब्यारेक भवन, हिरासत कक्ष र भान्साघर निर्माण भएका हुन् ।

भवनको बिहिवार नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै प्रहरी प्रमुख कुँवरले प्रहरी पहिले भन्दा अहिले हरेक हिसाबले अब्बल बन्दै गएको बताउनुभयो । उहाँले अपराध नियन्त्रणमा प्रहरी जस्ता सुकै घटना अपराधी पत्ता लगाएरै छोडेको बताउनुभयो । पछिल्लो पटक नागरिकको प्रहरीसँग बिश्वास, भरोसा र हेर्ने दृष्टिकोण नै सकरामत्क भएको बताउनुभयो ।

देशभर कुल २ हजार ७ सय प्रहरी इकाइहरु रहेका छन् । कुल १ हजार ८ सय इकाइ आफनै भवनमा रहेको कुँवरले बताउनुभयो । ४ सय प्रहरी चौकी भाडाका भवनमा रहेको र बाँकी ५ सय प्रहरी चौकी आश्रय लिएर बसेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

भवनहरु भ्याटसहित ६ करोड ६८ लाख रुपैयाँमा सम्पन्न भएको हो । २०७६ चैत ६ गते निर्माण सम्झौता भई हालै उक्त संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

भवन निर्माणको जिम्मा बिकोई शुनिल–समिर जेभीले लिएको थियो । उक्त संरचनाहरु लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्राविधिक सहायतामा सम्पन्न भएका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यालय भवन बाहेक अन्य भवन पुराना र जिर्ण भवनबाट सेवा दिँदै आएको थियो ।

निकै कष्टपूर्ण जीर्ण भवनबाट नागरिकलाई शान्ति सुरक्षा कायम गर्दै आएको प्रहरी भवन बनेपछि कार्यालय व्यवस्थापनमा सहज हुने भएको छ । जिल्लामा अझै पनि केहि प्रहरी चौकीहरु भाडा र जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएका छन् ।

प्रहरीको नयाँ भनव बनेसँगै प्रहरीले सेवा दिन सहज बनेको छ । जिल्लामा २२ वटा प्रहरी इकाइहरु रहेका छन् । प्रहरी कार्यालयसँगै क वर्ग २ वटा इलाका प्रहरी कार्यालय, ख वर्गमा २ वटा प्रहरी चौकी, १८ वटा चौकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरी चौकी मध्ये करिव १० वटा चौकी भाडामा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.