नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ

काठमाडौं- प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी नक्कली भूटानी शरर्णार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उहाँलाई बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।

ठगी प्रकरणमा पक्राउ परेकाहरुको बयानका आधारमा रायमाझी र उहाँका छोरालाई पुर्जी जारी भएको हो । रायमाझीका छोरा पक्राउ परिसकेका छन् भने रायमाझी सम्पर्कविहिन हुनुहुन्छ । गत चैत १२ गते पक्राउ परेका सानु भण्डारीको डायरीमा भेटिएको प्रमाण र उनको बयानका आधारमा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको हो ।

रायमाझी सम्पर्कविहिन भएको विषयलाई उच्चस्तरीय राजनीतिक नेतृत्वबीचको भेटघाटसँग पनि जोडेर चियोचर्चा हुँदैछ । खासगरी बिहिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटघाटपछि यसखाले चर्चा शुरु भएको हो । भेटमा उहाँहरुबीच नक्कली शरणार्थी प्रकरणका विषयमा समेत छलफल भएको थियो ।

छलफलपछि एमाले अध्यक्ष ‌ओलीले दोषीले उन्मुक्ति पाउन नहुने तर निर्दोष फँस्न नहुने भन्दै रायमाझी बाटोमा हिंड्दा हिंड्दै समाउनुपर्ने मान्छे होइन भन्ने प्रतिकृया दिनुभएको थियो ।

बिहिबार नै माओवादी पदाधिकारीको अनौपचारिक बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताउनुभयो ।

उहाँले नक्कली शरणार्थी बनाउने र गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारले अधिकतम पहल गर्ने पनि उल्लेख गर्नुभयो । प्रहरीले पनि चिया चर्चामा गरिए जस्तो दवाव र प्रभावमा रायमाझी पक्राउ नपरेको भन्ने कुरालाई अस्वीकार गरेको छ ।

अझै पनि १०-११ जना हाइप्रोफाईल पक्राउ पर्न सक्ने जानकारी प्रहरीले दिइसकेको छ । तर २ महिनाको समय पाएर अनुसनधानमा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौलाई अनुसनधानको काम सक्न अब करिव १८ दिनको समय मात्र बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.