बनेपामा चण्डेश्वरी जात्रा

काभ्रे- काभ्रेको बनेपामा चण्डेश्वरी जात्रा आज सम्पन्न हुँदैछ । वैशाख शुक्ल पूर्णिमा, अघिल्लो दिन देखि शुरु भएको जात्रा आज सम्पन्न हुर्दैछ । जात्राको अवसमा प्रत्येक वर्ष बनेपाको चण्डेश्वरी मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ ।

पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार खड्गसँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहने गर्दछ । जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) निकालिन्छ ।

बनेपाका बासिन्दाले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लाय्कुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । मत पूजासँगै औपचारिक रुपमा जात्रा शुरु भएको मानिन्छ ।

जात्रामा पूर्णिमाका पूणिर्माकै दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बिभिन्न बाजागाजासहित युवाहरुले बोकेर ल्हाका पालुं हाः भन्दै चण्डेश्वरी पुर्‍याउने प्रचलन छ ।

खटलाई मन्दिर नजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । दोस्रो दिन बिहानसम्ममा सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याउने गरिन्छ ।

खटलाई प्राचीन लायकू दरबारसम्म पुर्‍याइन्छ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिन्छ । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्‍याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको छ ।

जात्राको शुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । बनेपा नगरपालिकाले जात्रामा आर्थिक सहयोग पनि गर्दै आएको छ । किंवदन्ती अनुसार २५ सय वर्ष अगाडि आराध्यदेवी चण्डेवरी माइको जात्रा धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाए ।

त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे । स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भयो । देवताहरु ज्यान जोगाउनका लागि पन्छीको रुप धारण गरी वनबाट अलप भए ।

चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन, चण्डासुरलाई मार्न प्रयास गरिन् तर सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएका छ ।

बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.