राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाँचजना पुरस्कृत

मकवानपुर- बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाँच जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा रत्ननगर–१२ चित्तवनका बि एण्ड बि केरा फार्मका सञ्चालक विष्णुहरि पन्त प्रथम हुनुभएको छ ।

उहाँले रु ७० हजारसहित सम्मानपत्र प्राप्त गर्नुभएको छ । यसैगरी बागमती–१ ललितपुरमा रहेको जनजीविका कृषि तथा पशु फार्मका सञ्चालक गोविन्द गौतम द्वितीय हुनुभएको छ । उहाँले रु ६० हजारसहित सम्मान पत्र प्राप्त गर्नुभएको छ । यस्तै माडी–६ चितवनका सरोज साहले तेली तृतीय हुँदै रु ५० हजार प्राप्त गर्नुभएको छ ।

यसैगरी पनौती–२ काभ्रेका कुशादेवी कृषिफार्मका सञ्चालक रमेश आचार्य र भरतपुर–१७ चितवनका विष्णुदेवी एग्र्रिकल्चर फार्मका सञ्चालक विष्णुबहादुर विश्वकर्माले सान्त्वना प्राप्त गर्नुभएको छ । उहाँहरूले जनही रु ४० हजार नगदसहित सम्मान पत्र प्राप्त गर्नुभयो ।

प्रथम भएका कृषक पन्तले २८ बिघा जग्गामा केरा खेती गरेर वार्षिक पौने दुई करोडको कारोबार गर्नुभएको छ । यसैगरी द्वितीय हुने कृषक गौतमले २५ बिघा जमिनमा किवी, जापानी हलुवावेद र एभोकाडोसँगै विभिन्न जातका तरकारीको खेती गर्दै आउनुभएको छ ।

तृतीय हुने कृषक तेलीले १५ बिघा जमिनमा पोखरी बनाएर माछापालनसँगै खसी बाख्रापालन गरेर वार्षिक डेढ करोड कारोबार गर्दै आउनुभएको छ । पुरस्कृतलाई सम्मानित गर्दै कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले कृषकलाई परेका समस्या समाधानमा सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले कृषकलाई प्रोत्साहनका लागि पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा पुरस्कृत किसानहरूले कृषि पेशालाई जोगाइराख्ने हो भने कृषि अनुदानमा वृद्धि गर्नुपर्ने समयमै मलखादको व्यवस्था गर्नुपर्ने माग राख्नुभएको थियो ।

बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त कृषकको छनौट जिल्लागत रूपमा उत्कृष्ट भएका ३६ जना कृषकमध्येबाट छनोट गरिएको मन्त्रालयका सचिव पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.