संसदीय सुनुवाई समितिको नेतृत्व बारे तीन दलबीच सहमति

काठमाडौँ- प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसदीय सुनुवाई समितिको नेतृत्वबारे सहमति जुटेको छ।

प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफलमा सुनुवाई समितिको नेतृत्व र सहभागिता बारे टुंगो लागेको हो ।

तर समितिमा को रहने भन्ने बारेमा चाहिँ दलहरुले अझै छलफल गर्नेछन ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भएको मुख्य सचेतक पाण्डेले बताउनु भयो ।

संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी रहेको भन्दै सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा बैठकमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.