बारामा अवैध कर संकलन गर्ने चार पक्राउ
बारा- पथलैया बिरगन्ज एशियन राजमार्गमा जथाभावी कर उठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कवाडी करका ठेकदारहरुले जथाभावी कर उठाउदै ट्रक व्यवसायीलाई दुःख दिएपछि उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा परवानीपुरका सुरज गुप्ता, चन्दन गुप्ता, पप्पु गुप्ता र श्रीकान्त पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताउनु भयो ।
राजमार्गमा बसेर खाली र ग्यास पेट्रोल डिजलका ट्रयाङ्करहरुलाई समेत रोकी अबैधरुपमा रकम संकलन भईरहेको सुचनाका आधार प्रहरीले रकम संकलन गरी रहेको ठेली सहित उनीहरुलाई पक्राउ गरेको हो ।
श्री एच.एण्ड जे ट्रेडर्स परवानीपुरले जीतपुरसिमराको दुइ करोड ५६ लाखमा र परवानीपुरमा २१ लाखमा जडीबुटी, कवाडी तथा जीवजन्तु कर ठेक्का सकार गरी सबै खाली तथा समान नभएका ट्रकहरुलाई समेत अबैध कर उठाएपछि एकातर्फ राजमार्गमा अबरोध पुगेको छ भने अर्को तर्फ ब्यबसायीहरु मारमा परेका छन ।
पोखराबाट कवाडी सामाग्री लिएर आएका धादिङ घर भएका ग १ ख ९८४४ का चालक सुर्य सोनारले चितवन, मकवानपुर र बारामा गरी तीन ठाउमा एउटै बस्तुको कवाडी कर तिर्नु परेको बताउदै नदिए सडकमै गाली गलौज र मारपिट हुने गरेको बताए ।
जीतपुरसिमरा २३ का वडाअध्यक्ष मुस्तफिक अन्सारीले पटक पटक आफुले ठेक्का भन्दा गलत तबरले रकम नलिन भनेपनि ठेकदारले नमानेको बताए । आफनो वडामा भएको यस्तो गलत कार्यको जानकारी प्रहरीमा गराएको अन्सारीले बताए ।
जीतपुरसिमराका नगरप्रमुख राजन पौडेलले राजमार्गमा बसेर कवाडी कर उठाउन अनुमति नदिएको बताउनु भयो । स्थानीय सरकार सञ्चालन ऐनको परिधि र अधिकारमा रहेर ठेक्का लगाएको पौडेलले बताउदै ठेक्काको नियम र शर्तमा बसरे काम नगरे कारवाही हुने बताउनु भयो ।
परवानीपुर गाँउपालिका प्रमुख रामक्षेत्री प्रसाद कुर्मीले कवाडी करको नाममा ठेकदार कम्पनिले एलपिजी ग्यास ट्रयाङकरसग कर उठाउन आफुहरुले अनुमति नदिएपनि बिलमै राखेर रकम उठाएकोले बिलनै नक्कली भएको बताए । राजमार्गमा बसेर रकम उठाउनु गलत भएको उनले बताए ।
कवाडी करको नाममा प्रत्येक मालवाहक र खाली गाडीसँग रकम उठाएको विषयमा उजुरी आएपछि उपमहानगरमा स्थानिय प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई कारवाहीको लागि पत्र पठाएको जनाएको छ ।
गत भदौ १७ गते उपमहानगरले प्रशासनलाई पत्र पठाएर मापदण्ड विपरित कर असुली गरेको गुनासो आएकाले सम्झौता कार्यन्वयनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्न अनुरोध गरेको थियो ।
स्थानिय प्रशासनलाई गरेको अनुरोधमा प्रहरी,प्रशासनले कारवाहीका लागि चासो नदेखाएपछि उपमहानगर पुनः कार्तिक २२ गते सम्वन्धित ठेक्का कम्पनिलाई निर्देशन कार्यान्वयन गर्न आदेश दिएको भएपनि ठेकदारले अटेर गर्दै आएको छ ।
ठेकदार कम्पनिले बाटो छेकी जवर्जस्ती नियम विपरित रकम असुली गरेको सम्वन्धमा उजुरी परेकोले के कसो भएको हो तीन दिनभित्र लिखित जवाफ पेश गर्न उपमहानगरले पत्र समेत काटेपनि रकम उठाउदै आएपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्