प्रतिनिधि सभा बैठक : शरणार्थी प्रकरणदेखि विकास निर्माणसम्मको विषयमा ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बस्नुभएका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बस्नुभएको भन्दै सांसद गिरीले विकास निर्माणको काममा देखिएको बेथिती अन्त्यका लागि माग गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले दशेव्यापीरुपमा विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणका सन्दर्भमा सदनकोतर्फबाट सभामुखले रुलिङ गराइसक्नुभएको भए पनि सरकारले हालसम्म जानकारी नदिएकामा गुनासो गर्नुभयो ।
सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र रत्नराज्यलक्ष्मी क्याम्पसका कारण पाँच सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाँड भएको बताउनुभयो । विद्यार्थीले पाउनुपर्ने सामान्य सुविधासमेत नपाएको उल्लेख गर्दै उहाँले सो प्रकरणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले नक्कली शरणार्थी प्रकरणको छानबिन चलिरहेका बेला अन्य विषय उठाएर छानबिन प्रभावित पार्न खोजिएको उल्लेख गर्नुभयो ।
सांसद दिक्पाल शाहीले गत वेशाख २७ गते दैलेखको एक सामुदायिक वनमा भएको आगलागीमा परी भएको जनधनको क्षतिप्रति सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । सो घटनामा परी घाइते भएकाको निःशुल्क उपचारको प्रबन्ध गर्न उहाँले माग गर्नुभयो ।
सांसद मनिष झाले विश्वका विभिन्न देशमा भएको भ्रष्टाचार विरोधी आन्दोलनको तथ्य पेस गर्दै मुलुकभित्र पछिल्ला दिनमा देखिएको नक्कली शरणार्थी प्रकरणमा जोडिएका मानिस भाग्न नपाउन भन्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद राजकिशोर यादवले सिराहाको सुखीपुरमा भएको आगलागीको घटनामा परी जनधनको क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्नुभयो । सुक्खा मौसमका समयमा तराई मधेसका जिल्लामा आगलागीको घटनामा वृद्धि हुन थालेको उल्लेख गर्दै उहाँले त्यस्तो घटना न्यून गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो । नक्कली शरणार्थी प्रकरणलाई उहाँले देशद्रोहको सङ्ज्ञा दिँदै दोषीलाई कडा कारबाहीको माग गर्नुभयो ।
सांसद चन्द्रबहादुर विश्वकर्माले पनि दैलेखमा भएको आगलागीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त विपद्मा परेका नागरिकले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद अम्मरबहादुर थापाले नक्कली शरणार्थी प्रकरण मानव तस्करी भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले विद्युतीय सवारीसाधनको प्रयोगमा बढोत्तरी भए पनि नीतिनियम र कानुनको प्रबन्ध नहुँदा नागरिकले सुविधा नपाएको बताउनुभयो ।सांसद दिपकबहादुर सिंहले मुलुकको दक्ष जनशक्ति विदेशिएकाले उनीहरुलाई देशभित्रै राख्न आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेटको प्रबन्ध गर्नुपर्ने बताउनुभयो । बजेटमा दक्ष जनशक्तिका लागि देशभित्रै रोजगारीको प्रबन्ध गर्न उहाँले माग गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.