जब्दीमा नयाँ पुलका लागि टेण्डर गरिने

काठमाडौँ- बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल भत्किएपछि सरकारले नयाँ टेन्डर प्रक्रिया थाल्ने भएको छ ।

पुरानै ठाउँमा भने पुल नबन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।

मन्त्रालयको आयोजनामा बुधबार भएको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले भत्किएको पुलका सम्बन्धमा अदालतमा मुद्दा चलिरहेको र अख्तियारले पनि अनुसन्धान सकाएर विशेषमा मुद्दा चलाइसकेकोले अब नयाँ कहाँ र कसरी बनाउने भनेर ठेक्का प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको बताउनुभयो ।

उहाँले यसका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता गरिदिन आफूले पहल थालिसकेको जानकारी दिनुभयो ।

मन्त्रालयले अहिले भत्किएको पुलको संरचना हटाउन थालिसकेको जानकारी दिनुहुँदै उहाँले दुईवटा एक्जाभेटर लगेर संरचना हटाउन थालिएको बताउनुभयो ।

यसअघि २०७४ साउन २८ गते बबई नदिमा आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए । उक्त पुलको ठेक्का पप्पु कन्ट्रक्सनले पाएको थियो ।

पुल निर्माण लगायत माग राखेर नेपाली कांग्रेसका संघीय सांसद सञ्जय गौतम आमरण अनशनमा बस्नुभएको छ ।

मन्त्री ज्वालाले गौतमलाई अनशन तोड्न आग्रह गर्नुभयो ।

भत्किएको पुलका स्ल्याब र पिलरका कारणले बबई नदीको धार परिवर्तन भएर अन्य क्षेत्रमा समेत खतरा निम्तने देखिएपछि संरचाना हटाउनुपर्ने भएकाले त्यसक्षेत्रमा अनसन तोड्न मन्त्री ज्वालाले गौतमलाई आग्रह गर्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.