एक सातामै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था हुन्छ: यातायात मन्त्री ज्वाला

भक्तपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

पूर्व अरनिको यातायात प्रालिले आजदेखि सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उहाँले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, “सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौँ, त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।”

नागरिकले सवारी चालक अनुमतिपत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानुन नै बाधक बन्ने र त्यस्ता कानुनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने बताउँदै मन्त्री ज्वालाले भन्नुभयो, “अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ, त्यसलाई संशोधन गरी १० वर्ष पुर्याउने भएका छौँ, त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौँ, स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौँ ।”

सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको बताउँदै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको सङ्कटका कारण पूर्वाधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आए पनि जनतासँग प्रत्यक्ष जोडिने सडक भएकाले सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताउनुभयो ।

आफू मन्त्री भएर आएदेखि नै सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उहाँले अलपत्र र रुग्ण अवस्थामा रहेका सडकका योजनालाई टुङ्गोमा पुर्याउन मन्त्रालयले समयमै गुणस्तरीय सडक निर्माण गर्न अभियान नै थालेको बताउनुभयो ।

उहाँले सार्वजनिक सवारी सुरक्षित, भरपर्दो र थप सेवामुखी बनाउन प्रतिबद्धताका साथ काम गरिरहेको भन्दै यातायात क्षेत्रमा रहेका अव्यवस्था र जटिलतालाई सुुधार्न मन्त्रालयले थालनी गरेको बताउनुभयो । सडक पूर्वाधार राम्रो नहुँदासम्म यात्रुले सुविधा पाउन नसक्ने भन्दै उहाँले सडकलाई राम्रो बनाउने र दुर्गम ठाउँसम्म सुरक्षित सवारी सेवा पुर्याउन सडक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, “मन्त्रालयको बढी चासो सडकको स्तर राम्रो र सार्वजनिक सवारीसाधन सुरक्षित गर्नतर्फ रहेको छ, सवारी दुर्घटनाको कहालीलाग्दो अवस्थाको अब अन्त्य हुनुपर्छ, सकेसम्म दुर्घटना नै नहोस्, भइहाले पनि कोही यात्रुको ज्यान नजाने अवस्था सिर्जना गर्नुपर्छ, त्यसका लागि सबै निकायसँग सहकार्र्य र समन्वय आवश्यक छ ।

ट्राफिक व्यवस्थापनमा कडाइ गर्नुपर्ने तर यसका नाममा सवारी चालकले अनावश्यक दुःख पाउने अवस्था सिर्जना हुनु हुँदैन भन्दै उहाँले ट्राफिक प्रहरीले सहजीकरण र कडाइ दुवै गर्नुपर्ने बताउनुभयो । मन्त्री ज्वालाले यातायात व्यवस्थासँग जोडिएका सवालमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सम्बन्धित सरोकारवालाले समन्वयात्मक ढङ्गले छलफल गर्दै समस्याको निकास निकाल्नुपर्ने औँल्याउनुभयो ।

यातायात व्यवस्थालाई सुधार र सुदृढ गर्न तथा भरपर्दो एवं सुरक्षित बनाउनका निम्ति सम्बन्धित सवालमा मन्त्रालयको सीमाभित्र रहेर महानगरपालिका, नगरपालिका ट्राफिक प्रहरी र अन्य मन्त्रालय तथा निकायसँग जोडिएर समन्वयन गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले विगत ५० वर्षदेखि कोटेश्वरपूर्वका जिल्लामा सार्वजनिक यातायातको सेवा दिँदै आएको प्रालिले श्रमिकका छोराछोरीका लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्दै आएको र आजदेखि तिनै मजदुरका छोराछोरीका लागि निःशुल्क चारवटा स्कुल बस सञ्चालनमा ल्याएको बताउनुभयो ।

चालक, सहचालकका छोराछोरीलाई निःशल्क पठनपाठनको व्यवस्था गर्दै आएकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको बताउँदै उहाँले मजदुरका छोराछोरी पनि डाक्टर, इञ्जीनियर बनाउन लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोटेश्वरपूर्वका लागि जडीबुटीमा १४ रोपनी जग्गा भाडामा लिएर रु तीन करोडको लगानीमा १५ वर्षका लागि बसपार्क बनाउँदैछौँ, तर काठमाडौँ महानगरपालिकाले टिकट काउन्टर र यात्रु चढ्ने तथा ओर्लन नपाउने निर्णय गरेर जटिलता ल्याएको छ, महानगरले गर्दा जडीबुटीबाट कोटेश्वरसम्म बिहान ५ बजे यात्रुहरू अलपत्र पर्ने गरेका छन् ।”

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका प्रमुख पोषराज पोखरेललगायतले यातायात व्यवस्थाभित्र रहेका समस्यालाई समाधान गर्न आवश्यक रहेको औँल्याउनुभयो । त्यस अवसरमा दुर्घटनामा निधन भएका अरनिको यातायात प्रालिका बस चालक कृष्णराम कोजूकी पत्नी लक्ष्मी कोजूलाई प्रालिको तर्फबाट रु १० लाख सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.