विषादी प्रयोग गरेर पकाइएका आँप बजारमा छ्यापछ्याप्ती

मोरङ- बजारमा हिजोआज क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ ।
विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।
सरोकार निकाय अनुमतिबिना विषादी प्रयोग गरी बिक्री वितरण गर्न नपाइने बताउँछन् । बजेट निर्माणको चटारो भएका कारण बजार क्षेत्रमा नियमित अनुगमन गर्न नसकिएको सम्बन्धित निकायको भनाइ छ ।
अत्याधिक मुनाफा आर्जनका लागि केही व्यापारीले विषादी प्रयोग गरी आँप बजारमा बिक्रीका लागि ल्याउने गरिएको र यस्तो आँपको सेवनले स्वास्थ्यलाई फाइदा नपुर्‍याउने विज्ञको भनाइ छ ।
कोसी अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी  मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्या देखिने बताउनुभयो । विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने गरेका बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.