गोरखामा बस दुर्घटना, १२ जना घाइते, २ जनाको अवस्था चिन्ताजनक
गोरखा- गोरखा नगरपालिका वडा नम्वर ८ ढुंगागाढेमा बुधवार बिहान भएको बस दुर्घटनामा गम्भिर घाइते भएका दुई जनालाई थप उपचारका लागि चितवन पठाइएको छ ।
नारायणगढबाट आरुघाटतर्फ जाँदै गरेको ना ५ ख ७२११ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ११ बजेतिर दुर्घटना हुँदा १२ यात्रु घाइते भएका थिए ।
घाइतेहरुमध्ये गम्भीर अवस्थाका दुई जनालाई चितवको भरतपुर मेडिकल कजेलमा रिफर गरिएको गोरखा अस्पतालले जनाएको छ ।
गम्भिर घाइते गोरखा नगरपालिका १४ का २७ वर्षका कमल पन्तको पेट र छातीमा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ ।
यस्तै आरुघाट गाऊँपालिकाका ५५ वर्षका खड्गबहादुर घलेको पनि पेट र छातीमा गम्भिर चोट देखिएकाले दुबैजनालाई चितवन रिफर गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो ।
यस्तै चितवनको रत्ननगर नगरपालिका घर भएकी ३० वर्षीया जानुका श्रेष्ठलाई पनि उहाँकै आग्रहमा चितवन पठाइएको अस्पतालले जनाएको छ ।
अन्य घाइतेहरुमा रत्ननगर नगरपालिका १२ की ५१ वर्षकी मनकुमारी पाण्डे, गोरखा नगरपालिका १ ताप्लेकी ४२ वर्षीया मिना थापा, गोरखा नगरपालिका ४ फिनामका ४५ वर्षका गोपाल विक, लमजुङको चिती गाऊँपालिकाका ३८ वर्षका प्रकाश परियार, आरुघाट गाऊँपालिका मान्बुका ६४ वर्षका आशबहादुर गुरुङ रहेका छन् ।
आरुघाट गाऊँपालिका अलकाटारकी ५० वर्षीया मनकुमारी दाहाल, चितवन रत्ननगरकी ५ वर्षकी बालिका जेनिशा श्रेष्ठ, भरतपुर महानगरपालिकाका ३० वर्षका भिम गुरुङ, भिमसेन थापा ५ कसिन्थोकका ७३ वर्षका घनश्याम भट्ट दुर्घटनामा घाइते भएका छन् ।
लमजुङका प्रकाश परियार र भरतपुर महानगरपालिकाका भिम गुरुङ डिस्चार्ज भएका छन् ।
सामान्य अवस्थाका ७ जनाको भने गोरखा अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्