राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग निकै कष्टकर र झन्झटिलो बन्दै

धादिङ- राजधानी काडमाडौंबाट बाहिरिने र राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको यात्रा आजकाल निकै कष्टकर र झन्झटिलो बन्दै जान थालेको छ ।

राजमार्गको स्तरोन्नतिका क्रममा सवारीका साधनहरु मध्यान्नको समयमा पनि ठप्प बनाई काम गर्न थालेसँगै सवारी जाम निकै लामो लाग्ने र धेरै बेरसम्म यात्रुहरु जाममा बस्नु पर्दा थप समस्या आएको हो । नौविसेदेखी मलेखुसम्मको सडक स्तरोन्नतिको काम भई रहेकोले यात्राका क्रममा निकै लामो समयलाग्ने गरेको छ ।

व्यस्त समयमा सवारी ठप्प बनाई पहाड काट्ने कामले त यात्रुहरुलाई उत्तिकै सास्ति र यात्रा पनि निकै जोखिमपूर्ण बनाएको छ । बढ्दो सवारी चाप र ठाँउ ठाँउमा सवारीका साधनहरु दुबैतर्फी नै ठप्प बनाई राजमार्गको भित्ता र पहाड काट्ने कामले त राजमार्गमा खटिने प्रहरीलाई समेत सवारी ब्यवस्थापनमा हम्मे हम्मे हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख उद्दव पेखरेलको भनाई छ ।

त्यसो त घण्टौ सवारी जाममा बस्नु पर्दा यात्रु र सवारी चालकहरु समेत निकै समस्यामा हुने गरेको छ । करिब साढे एक घण्टामा पार गर्न सकिने नौविसे-मलेखु खण्डको यात्रा नै आजकाल पाँच छ घण्टासम्म लाग्ने गरेको सवारी चालकहरुको गुनासो छ ।

ब्यवस्थित रुपमा रातको समयमा सवारी कम चल्ने बेला गर्नुपर्ने काम मध्यान्नको समयमा गर्दा यस्तो समस्या आएको हो । निर्माणका क्रममा सडकमा भएको धुलोले त सवारी हाँक्न समेत कठिनाई हुने गरेको छ ।

पृथ्वी राजमार्गको नौविसेदेखी मलेखुसम्म चौविस स्थानमा पहाड काट्ने काम भईरहेको छ भने ति सबै स्थानहरुमा एकातर्फी मात्रै सवारी आवागमन सुचारु हुने अवस्था रहेको छ ।

विशेष गरी नौविसेदेखी मलेखुसम्मको सडक आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्नतिको काम भने निकै तीब्र गतिमा भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.