सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा आजको मुख्य चुनौती: मन्त्री शर्मा

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताउनुभएको छ ।

दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानुन निर्माण गर्न लागेको जानकारी दिनुभयो । प्रविधिको गलत प्रयोगका कारण बालबालिका, किशोर–किशोरीदेखि आम नागरिकमा विभिन्न खालका समस्या सिर्जना भएको उल्लेख गर्दै उहाँले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोगसम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो ।

सामाजिक सञ्जालको गलत प्रयोगको सिकार नागरिक हुनुपरेको बताउँदै उहाँले सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाल टेलिकमले दाङ जिल्लाभित्र सञ्चारको अवस्था कस्तो छ भनेर अनुसन्धान गरेको जानकारी दिँदै मन्त्री शर्माले भन्नुभयो, “सूचना र प्रविधित्रमा सबैलाई पहुँच हुनुपर्छ । कुन स्थानमा के आवश्यकता छ ? आवश्यकताअनुसार हामी काम अगाडि बढाउनेछौँ ।”

उहाँले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोगसम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने मन्त्री शर्माले बताउनुभयो ।

राप्ती इन्जिनिरिङ कलेज सञ्चालक समितिका अध्यक्ष डा शैलेन्द्र गिरीको अध्यक्षतामा भएको सम्मेलनले कम्प्युटर, सूचना प्रविधि, साइबर सुरक्षा, नीति र कानुनका विषयमा सहभागीबीच छलफल, ज्ञान आदान–प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.