गाउँ फर्किए पुष्पा र अञ्जली

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको पुष्पा र अञ्जली नामको गैंडा गाउँमै फर्कने गरेका छन् । चितवनको सौरहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्किएका पुष्पा र अञ्जलीलाई प्राकृतिक बासस्थानमा छाडिएको थियो ।

पुष्पा र अञ्जली चितवन राष्ट्रिय निकुञ्जमा माउ गैडाबाट छुट्टिएर एक्लो अवस्थामा भेटिएका दुर्लभ एक सिंगे गैडाका टुहुरा बच्चाहरु हुन् । ति बच्चाहरु २०७६ र २०७७ सालमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राबिधिकहरुले जंगलबाट ल्याएर औषधी उपचार र स्याहार सुसार गर्दै आएको थियो ।

ति बच्चाहरु हुर्कंदै जाने क्रममा गाउँमा जाने र मानविय क्षति पुर्‍याउने सम्भावना भएकाले प्राकृतिक बासस्थानमा लगेर छाडिएको थियो । ति गैडाहरुलाई चितवन राष्ट्रिय निकुञ्जको तमोर ताल क्षेत्रमा छाडिएको थियो ।

केहीदिन जंगलमै रमाएका पुष्पा र अञ्जली अहिले निकुञ्जको सिमानामा रहेको पटिहानीमा आउने गरेको गाउलेहरुले बताएका छन् । प्राकृतिक बासस्थानमा छाडिएको पुष्पा र अञ्जली गाउँमा आएर बस्ने, धानको बिउ कुल्चिदिने र खाने गरेको पटिहानीका अपिल घिमिरेले बताउनु भयो ।

राप्ती नदी तरेर आउने गरेका पुष्पा र अन्जली राप्तीमा बाढी आउँदा बगाउने डर रहेको र गाउँतर्फ आउँदा तारले कोतरेर घाँटीमा घाउसमेत हुन थालेको उहाँले बताउनुभयो ।

पुष्पा र अञ्जली राप्ती नदी तरेर पटीहानीतर्फ आउँदा गाउँका मान्छेहरु गैंडाको छेउमा जाने, ढाप मार्ने, फोटो खिच्ने र गैंडा माथि चढ्ने गर्दा जोखिम बढेको छ । ती गैडाहरु मान्छेसँग घुलमिल भएर हुर्केका कारणले पनि मान्छे भएको स्थानमा आउने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन तथा सुचना अधिकारी गणेश प्रसाद तिवारीले बताउनु भयो ।

पुष्पा र अञ्जली गाउँतर्फ फर्कने गरेपछि निकुञ्ज कर्मचारी, सेना र हात्तिले निकुञ्जतर्फ फर्काउने गरेको उहाँले बताउनुभयो । निकुञ्जमा छाडिएको केही दिन तालमा आहाल खेल्ने, चर्ने गरेका थिए ।

निकुञ्जमा भाले गैंडा धेरै भएका कारण भाले गैंडाले लखट्नाले पनि पुष्पा र अञ्जली गाउतर्फ जाने गरेको हुनसक्ने निकुञ्जको अनुमान छ । पुष्षा तीन बर्ष ४ महिना र अञ्जली २ बर्ष १ महिना उमेरका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.