नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उहाँका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।
अध्यक्ष कुँवरले चार सय ४१ मत प्राप्त गर्दा यादवले तीन सय ८६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजङ्ग कार्कीले चार सय ६९, उपाध्यक्ष खुलातर्फ गणेशबहादुर केसीले चार सय ३८, ज्योति कोइरालाले चार सय १८, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनालले तीन सय ९२, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापाले चार सय १२, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठले तीन सय ७५, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) राजेश पालिखेले तीन सय ८६ मत ल्याई विजयी हुनुभएको छ ।
यस्तै महासचिवमा अजयकुमार राईले चार सय ६४, उपमहासचिव (खुला) बलदेव तामाङले चार सय ६९, जनार्दन भट्टराईले चार सय २८, महिला उपमहासचिव सुशीला घिमिरेले चार सय ३५, उपमहासचिव (सेवा) देवदत्त बडुले चार सय ५७, उपमहासचिव (उत्पादन) कुलबहादुर खड्काले चार सय १६, उपमहासचिव(अनौपचारिक तथा स्वरोजगार) रुक्मणि थापा (अर्चना)ले तीन सय ७६, कोषाध्यक्षमा सञ्जयकुमार दाहालले चार सय २१ र सहकोषाध्यक्षमा रशमाया गुरुङले तीन सय ९८ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
खुला सदस्यमा कमलबहादुर खत्री, कमलकुमार विष्ट, घनश्याम चापागाईं, टेकबहादुर सार्की, माधवप्रसाद उपाध्याय, विष्णुप्रसाद अधिकारी र सुजितविक्रम शाह, महिला सदस्यमा उर्मिलाकुमारी ढकाल पोखरेल, कविता अर्याल, ताराकुमारी राई कार्की, समिता कोइराला, शान्ति धाँमी र शान्ति सिंह (शाह) विजयी हुनुभएको छ ।
सदस्यमा अनिता मण्डल र भजनकुमारी ढुङ्गानाको बराबर मत आएको प्रमुख निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो । उक्त निर्वाचनले युवा समिति, महिला समितिसमेत चयन गरेको छ ।
विसं २०४७ मा कर्मचारी युनियन दर्ता भएपछि कर्मचारी सञ्चय कोष कर्मचारी युनियनको तदर्थ समितिको सदस्यबाट ट्रेड युनियन आन्दोलनमा सहभागी हुनुभएका कुँवर विसं २०६५ मा नेपाल ट्रेड युनियन कांग्रेसको सदस्य, विसं २०७० मा कोषाध्यक्ष, २०७५ मा महासचिव निर्वाचित हुनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष कुँवरले सामाजिक आन्दोलनलाई ट्रेड युनियन आन्दोलनसँग जोडेर अगाडि बढ्ने बताउनुभएको छ । निर्वाचित भएसँगै सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले श्रमिकलाई आर्थिक र सामाजिक रुपान्तरसँग जोडिने बताउनुभएको हो ।
उहाँले आगामी दिनमा ट्रेड युनियन कांग्रेसको सङ्गठन विस्तार गरी त्यसको तागत र आवाजमा राज्यसँग सौदाबाजी गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । नवनिर्वाचित अध्यक्ष कुँवरले मुलुकको राष्ट्रिय मुद्दामा नियमनकारी निकायको भूमिकामा रहेर सामाजिक आन्दोलनलाई ट्रेड युनियन आन्दोलनसँग जोडेर अगाडि बढ्ने बताउनुभयो ।
बुधबार राति भएको मतदानमा देशभरका आठ सय ८० महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिनुभएको थियो । उक्त निर्वाचनले पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.