समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा थप सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २०औँ वार्षिक साधारणसभालाई आज सम्वोधन गर्दै उहाँले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रलगायतका विभिन्न औद्योगिक पूर्वाधार निर्माण गर्ने दिशामा केही सकारात्मक उपलब्धी हासिल भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सम्पन्न भएका पूर्वाधारको पूर्णउपयोग गर्दै थप औद्योगिक पूर्वाधारको निर्माण गर्नेतर्फ सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक वातावरण निर्माण गर्नेतर्फ सरकारले एकपछि अर्को सुधारकार्य अघि बढाइरहेको छ भने निजी क्षेत्रले पनि लगानी बढाउने र वैदेशिक लगानी आमन्त्रण गर्ने दिशामा नतिजा देखिने गरी काम गर्ने विश्वास छ, अर्थतन्त्र सुधारका लागि परिसङ्घजस्ता संस्थासँग सहकार्य गरेर नै अगाडि बढ्ने कुरामा म विश्वास दिलाउन चाहन्छु ।”
परिसङ्घले दिएको अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावलाई सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा राख्ने प्रयास गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उद्योग परिसङ्घले सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा चितवनको शक्तिखोर औद्योगिक क्षेत्र वा मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनका लागि सरकार समक्ष आशय पेश गरेको बताउँदै उहाँले पीपीपी मोडलमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिनुपर्ने विषयमा सरकार स्पष्ट छ र बजेटसमेतमा उल्लेख गरिएको बताउनुभयो । त्यसलाई जति सक्दो छिटो कार्यान्वयनमा लैजान पहल गरिने उहाँको भनाइ छ ।
“पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको  विकास, कृषिको आधुनिकीकरण गर्नेजस्ता विषयमा हामीले अझै बढी ध्यान पुर्याउन जरूरी छ, खासगरी उत्पादन र रोजगारी वृद्धितर्फ हाम्रो आवश्यकता र सम्भावनाभन्दा भएको प्रगति ज्यादै न्यून छ, यसको फलस्वरूप पेट्रोलियम पदार्थ र औद्योगिक वस्तुमात्र नभई मुलुकभित्रै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुपनि वर्षेनी खर्बौंको आयात गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
त्यसैगरी रोजगारीका लागि दैनिक दुईहजारभन्दा बढी युवा विदेशिनु परेको र मुलुकभित्र मुख्यगरी आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलव्धि दिगो रहन नसक्ने भन्दै उहाँले सरकार र निजी क्षेत्रको अबको बाटो भनेको उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले घोषणा गरेको बजेटको कार्यान्वयन पक्ष कमजोर रहने गरेको सन्दर्भमा आगामी वर्षको बजेटको कार्यान्वयनलाई विशेष बनाउने गरी सरकारले कार्ययोजना बनाउने तयारी गरिरहेको बताउँदै उहाँले सरकारले बजेट कार्यान्वयनको सिलसिलामा चाल्ने कदममा पनि परिसङ्घको पूर्णसहयोग रहने विश्वास लिएको बताउनुभयो ।
“औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रलगायतका विभिन्न औद्योगिक पूर्वाधार निर्माण गर्ने दिशामा केही सकारात्मक उपलब्धी हासिल भएका छन्, सम्पन्न भएका पूर्वाधारको पूर्णउपयोग गर्दै थप औद्योगिक पूर्वाधारको निर्माण गर्नेतर्फ सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ”, प्रधानमन्त्रीले भन्नुभयो । उहाँले कृषिलगायत प्राथमिक क्षेत्रको विकास र विस्तारले उद्योग क्षेत्रको विकासलाई टेवा पुर्याइ कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढ्दै जानुपर्नेमा त्यसो हुन नसकेको भन्दै त्यस कुरालाई ध्यानमा राखेर संरचनात्मक रुपान्तरणमा जोड दिनेगरी सरकारले आफ्ना नीति तथा योजनाका कार्य अघि बढाएको बताउनुभयो ।
उहाँले आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रसँग गहिरो सहकार्य र बलियो एकता आवश्यक भएको महसुस गरी अर्थतन्त्र सुधारसम्बन्धी केही नीतिगत निर्णय गरेको स्मरण गर्दै त्यसको प्रभाव हाम्रो अर्थतन्त्रमा क्रमशः देखा पर्दै गयो र अहिलेसम्म आउँदा अर्थतन्त्र सुधारतर्फ गएको स्पष्ट देखिएको छ उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.