संखुवासभामा बाढीपहिरो अपडेटः बेपत्ताहरुको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन

संखुवासभा- संखुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर २० जना अझै हराइरहेका छन् । एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुरद्वारा खोजी भैरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

नेपाल प्रहरीले धरानबाट लगेका तालिम प्राप्त मोति र पिक्कु नाम गरेका कुकुरहरुलाई हेवाखोला र सभाखोला किनारमा बेपत्ताको खोजी गर्न परिचालन गरिएको छ । यसैगरी प्रहरी, सेना र सशस्त्र प्रहरी गरी झण्डै एक सय सुरक्षाकर्मी पनि खोजी कार्यमा परिचालन गरिएको छ ।

बाढी पहिरोले खोला किनारमा थुपारेको ६० फिटभन्दा बढी बालुवाले खोजी कार्य प्रभावित बनाएको प्रजिअ कार्कीले जानकारी दिनुभयो । बाढीपहिरोमा परी बेपत्ता भएका २० जनामध्ये सुपर हेवाखोला जलविद्युत्का १६ जना, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्ट्रक्सनका एक र सभाखोपरी गाउँपालिकाका दुई जना छन् । बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २१ घरपरिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.