बझाङमा पहिलो पटक रैथाने बाली खाद्य परिकार महोत्सव सञ्चालन

बझाङ- बझाङमा अर्ग्यानिक रैथाने बाली खाध परिकार महोत्सव सुरु भएको छ । रैथाने बालीको उत्पादन वृद्धि र प्रवर्द्धनका लागी रैथाने बाली खाद्य परिकार महोत्सवको आयोजना गरिएको छ ।

रैथाने बालीको प्रवर्द्धन, उत्पादन वृद्धि, गाउँघरको उत्पादन खाने बानीको विकास गर्न जयपृथ्बी नगरपालिका, मष्टा र सुर्मा गाउँपालिकाको आयोजनामा रैथाने बाली खाद्य परिकार महोत्सवको आयोजना गरिएको हो । महोत्सबमा कृषि ज्ञानकेन्द्र बझाङ र शहिद बृष बहादुर सिंह बहुप्राबिधिक शिक्षालय अठला बझाङले समन्वय गरेको छ भने सह प्रायोजक युएमएन र दलित सहयोग समाज रहेका छन् ।

पहिलो पटक भएको जिल्ला सदरमुकाम चैनपुरमा खाद्य महोत्सवले रैथाने बालीको महत्त्वलाई उजागर गरेकाले रैथाने बालीको प्रवर्द्धनका लागि यस्ता खालका महोत्सवलाई निरन्तरता दिनुपर्ने सहभागी जगदीश रोकायाले बताउनु भएको छ । पछिल्लो समय विभिन्न कारण रैथाने बालीको उत्पादन घट्दो भएपनि यसको माग भने बजारमा भने बढ्ने गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले रैथाने बालीको उत्पादन वृद्धि गरि निर्यात प्रवर्द्धन गर्न स्थानीय सरकारले ठोस नीति बनाउनु पर्ने बताउनुभयो । खाजा भनेकै चाउचाउ, चाउमिन हो ठान्छन् । अब स्थानीय बालीको प्रवर्द्धन गर्नुपर्छ उहाँले भन्नुभयो ।

यस्तै आयातित वस्तु खाने लत हरेक नागरिकलाई परिसकेको हुनाले रैथाने उत्पादन खान हिचकिच मान्ने गर्छन जिल्ला समन्यय समितीका प्रमुख नरबहादुर बोहराले बताउनुभयो । कुनै समय चिनो कागुनो, फापरको पिठो गरिबले खान्छन् भन्ने मान्यता थियो । तर अहिले अर्ग्यानिक खाना धनीमानीको लागि चौरासी व्यञ्जन सरह भएको छ उहाँले भन्नुभयो ।

यता रैथाने बाली प्रवर्द्धनका लागि ठोस नीति नै बनाएर अघि बढ्ने जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालले बताउनुभयो । कृषि नै मुलुकको मुख्य आयस्रोत भएकोले कृषि र किसानको विकासमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

सदरमुकाम चैनपुरको जिल्ला समन्वय समितीमा सुरु भएको महोत्सव दुई दिनसम्म चल्नेछ । महोत्सवमा रैथाने बाली बिक्री बितरण, व्यक्तिगत सरसफाइमा चेतना, खाद्य गुणस्तर मापदण्ड र साँस्कृतिक कार्यक्रम मुख्य आकर्षणका रुपमा रहेका छन् ।

उक्त महोत्सवमा लोकेन्द्र रोकाया र कोसेली घरका सञ्चालक बसन्त खड्काले रैथाने बालीको स्टल राख्नुभएको छ । रैथाने बाली प्रवर्द्धनका लागि स्थानीय महिलाहरुद्वारा देउडा र बिद्यार्थीहरुद्वारा नृत्य समेत प्रस्तुत गर्दै बाली संरक्षणमा जोड दिएका छन् ।

जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख र बहादुर बोहरा रहनुभएको थियो भने बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय रहनुभएको थियो ।

महोत्सबमा फापरको केक, मार्सको लडु, कोदोको मःम र हलुवा, कागुनाको खिर आलुको चिप्स, भागोको चट्नि र भटमासलगायतका परिकारहरु राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.