प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगन

काठमाडौँ- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने नगर्ने निर्णयप्रति अर्थमन्त्रीबाट स्पष्ट जवाफ नआएको भन्दै उठेर विरोध जनाएपछि बैठक स्थगित गरिएकाे हो ।

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने निर्णयको विरोध भएपछि हिजो अर्थमन्त्रले स्पष्ट पारे पनि त्यो विनियोजन विधेयक, २०८० मा उल्लेख नभएको भन्दै विरोध गर्नुपरेको बताउनुभयो ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई बोल्न समय दिनुभयो । सांसद लेखकले निर्वाचन कार्यालयका सन्दर्भमा अर्थमन्त्री डा प्रकाशशरण महतले मङ्गलबार नै स्पष्ट जवाफ दिइसक्नु भएकाले प्राविधिक विषय देखाएर सदन अवरोध नगर्न आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनको मर्यादा, स्वच्छता र स्वतन्त्रताका पक्षमा सबै राजनीतिक दल एकै ठाँउमा रहेको, सरकारले समेत यस विषयमा स्पष्ट धारणा सार्वजनिक गरिसकेको अवस्थामा सदनलाई अवरोध गर्नुको कुनै अर्थ नभएको उहाँको भनाइ छ । सांसद लखेकले एउटा पक्ष निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत राख्ने जस्तो, अर्को पक्ष विद्यमान अवस्थामा नै राख्नुपर्छ भन्ने जस्तो देखाएर सदनमा अवरोध गर्नुको कुनै अर्थ नभएको उल्लेख गर्नुभयो ।

मङ्गलबार अर्थमन्त्री डा महतले जिल्ला निर्वाचन कार्यालय विद्यमान अवस्थामा नै जसरी छुट्टै कार्यालयका रुपमा रहने स्पष्ट पार्नुभएको थियो । अर्थमन्त्री डा महतले मङ्लबारको बैठकमा आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै आम नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने स्पष्ट पार्नुभएको थियो । मन्त्री महतले जिल्ला निर्वाचन कार्यालय अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिने खारेज नहुने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.