‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री प्रचण्डले भेरी-बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका समस्याबारेमा जानकारी लिनुभयो । एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले आज पहिलो पटक ती आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिनुभएको हो ।  ती दुवै आयोजना नदी पथान्तरण आयोजना हुन् । दुवैमा ‘टनेल बोरिङ मेशिन’ (टिबिएम)को प्रयोग गरिएको छ ।
भेरी-बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रिया पूरा भए पनि हाल बाँधस्थल, विद्युत्गृहलगायतको निर्माण जारी छ । विसं २०७७ मा नै आयोजनाको कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि अन्य काम भने अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन ।
आयोजनाको समग्र अवस्थाबारेमा आयोजना प्रमुख दिनेश भट्टले जानकारी गराउँदै कोरोना कहरलगायतले अपेक्षित काम हुन नसकेको जानकारी गराउनुभयो । उहाँले परामर्शदाता कम्पनीको अभावमा काममा केही कठिनाइ भएको बताउनुभयो । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका कूल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सो आयोजना सुरु गरिएको हो । आयोजनाबाट ४६ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य छ ।
बाँध निर्माणको काम अपेक्षितरुपमा अगाडि बढेको भए पनि विद्युत्गृह निर्माण अपेक्षित प्रगति हुन नसकेको सो आयोजनालाई गति दिन सरकारले अधिकतम प्रयास गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको सुरुङ निर्माण तोकिएको समयभन्दा अगावै सम्पन्न भए पनि अन्य काममा ढिलाइ हुँदा समस्या देखिएकाले तत्काल समाधानको पहल जरुरी रहेको बताउनुभयो ।
यस्तै, सुनकोशीको पानी मरिण खोलामा खसालेर मधेस प्रदेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा भने उल्लेख्य प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण भएको नौ महिनामै कूल सात दशमलव ९६ किलोमिटर निर्माण सम्पन्न भएको छ । गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो ।
आयोजना प्रमुख मित्र बरालका अनुसार सुरुङ निर्माणमा अपेक्षित प्रगति भएको र हालसम्मको भौतिक प्रगति ५३ प्रतिशत बराबर पुगेको छ । सो आयोजनाको सुरुङको कूल लम्बाइ १३ दशमलव एक किलोमिटर छ । टनेल बोरिङ मेशिन (टिबिएम)को प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ ।
गत महिना मात्रै सो आयोजनाको कूल एक हजार दुई सय २४ मिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो । विश्वव्यापीरुपमा पनि यति छिट्टै यति धेरै सुरुङ निर्माण हुनु पनि आफैँमा रेकर्ड नै भएको जानकारी दिँदै उहाँले विश्व रेकर्डका लागि नाम लेखाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
सो आयोजनाबाट तराई मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । टिबिएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको उल्लेख गर्दै आयोजना प्रमुख बरालले विद्युत्गृह र बाँध तथा प्रसारण लाइन निर्माणका लागि निर्माण व्यवसायी परिचालन भइसकेको बताउनुभयो ।
चारवटै कामका लागि समानान्तर रुपमा प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्दै उहाँले तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण प्रक्रिया पूरा हुने बताउनुभयो । चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामा सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज हुने उहाँको भनाइ छ ।
ऊर्जामन्त्री बस्नेतले सो आयोजनामा भुक्तानीको समस्या देखिएकाले तत्काल समाधान गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्नुभयो । “चालु आवका लागि आयोजनाका लागि विनियोजित सम्पूर्ण बजेट भुक्तानी भइसकेको छ । थप बजेट तत्काल उपलब्ध गराउनु आवश्यक छ । त्यसका लागि तत्काल पहल गरिदिनुहुन म प्रधानमन्त्रीसमक्ष आग्रह गर्दछु”, मन्त्री बस्नेतले भन्नुभयो ।
सुरुङ निर्माणमा भौगर्भिक रुपमा रहेको जटिलताका कारण दुई पटक समस्या देखिएको थियो । सुरुङ निर्माणका क्रममा एक पटक नौ दिन र एक पटक २६ दिन काम नै रोकिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले महाभारत पर्वत शृङ्खलामुनि पुगेकाले अब कुनै पनि जटिलता उत्पन्न नहुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन आयोजनामा सकेसम्म प्रत्यक्ष रुपमा नै नभए एक्सन रुमबाटै अनुगमन निरीक्षण गरी समस्या समाधान गर्ने र विकासको गतिलाई अगाडि बढाउने बताउँदै आउनुभएको छ ।
सो अवसरमा सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको नियमितरुपमा एक्सन रुमबाटै भए पनि अनुमगन, निरीक्षण तथा आवश्यक निर्देशन दिने तथा समस्या समाधान गर्ने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.