नेपालमा संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा आज संसद् दिवस मनाइँदै

काठमाडौं- ६५औँ संसद् दिवस आज मनाइँदै छ । विसं २०१६ मा आजकै दिन नेपालको पहिलो ‘संसद्’ को बैठक बसेको थियो । ‘सङ्घीय संसद्को परामर्शदातृ अङ्ग’ पूर्वसांसद मञ्च नेपालको आयोजनामा संसद् भवन, नयाँ बानेश्वरमा आज एक समारोह पनि आयोजना गरिँदै छ ।

नेपालको पहिलो संसद्को पहिलो बैठक राति ११ बजेर ४५ मिनेटको साइत पारी बोलाइएकामा सभा प्रारम्भ भने ठीक मध्यरात १२ बजे सिंहदरबारस्थित ग्यालरी बैठकमा बसेको इतिहास छ । त्यसदिन प्रतिनिधिसभाका १ सय ९ मध्ये १ सय ६ जनाले सपथ ग्रहण गरेका थिए । नेपाली कांग्रेसका नेताहरु सुवर्ण शमशेर तीन र शिवराज पन्त दुई क्षेत्रबाट विजयी भएकाले प्रतिनिधिसभाका तीन सिट खाली थियो ।

प्रथम संसद्ले १८ महिना पार नगर्दै विसं २०१७ मा संसदीय व्यवस्था विघटनपछि मुलुक निर्दलीय व्यवस्था लागु भई एक सदनात्मक राष्ट्रिय पञ्चायतको अभ्यासमा गएको थियो ।

छयालिस सालको जनान्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई प्रतिनिधिसभा र राष्ट्रियसभा नामबाट ‘संसद्’ को पुनःबहाली भयो । नेपालको अन्तरिम संविधान, २०६३ मा भने ‘व्यवस्थापिका–संसद्’ नामकरण भएकामा २०७२ को ‘नेपालको संविधान’ पछि प्रतिनिधिसभा र राष्ट्रियसभासहितको द्विसदनात्मक ‘सङ्घीय संसद्’ मा रूपान्तरण भएको छ ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा दुई सय ७५ सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् भने राष्ट्रियसभामा निर्वाचित र राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य रहन्छन् । समानुपातिक र समावेशिताका सिद्धान्तका आधारमा संसद् सदस्यले विविधतायुक्त नेपाली समाज एवं जनमतको प्रतिनिधित्व गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.