प्रहरी प्रमुख कुँवरलाई चितवनमा सम्मान

चितवन- समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न प्रहरी–नागरिक सहकार्य अपरिहार्य रहेको बताइएको छ । शनिबार चितवनको भरतपुरमा बालबालिकाका लागि प्रहरी–नागरिक अभियान नेपाल (पीटुसीटु)ले नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सम्मानमा आयोजित कार्यक्रममा उक्त कुरा बताइएको हो ।

चितवनका तत्कालीन प्रहरी प्रमुखसमेत रहेका आइजीपी कुँवरको पालामा स्थापना गरिएको बालबालिकाहरुका लागि प्रहरी–नागरिक अभियान नेपाल (पीटुसीटु)को स्थलगत निरीक्षणमा चितवन पुगेका प्रहरी महानिरीक्षक कुँवरको सम्मानमा आयोजना भएको उक्त कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्यलाई देशव्यापीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने बताउनुभयो । प्रहरी र नागरिकबीचको सहकार्यबिना समाजमा शान्ति सुरक्षा कायम रहन नसक्ने बताउँदै महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीजस्तै नागरिकको पनि कर्तव्य भएको बताउनुभयो ।

कार्यक्रममा पीटुसीटुका अध्यक्ष बेलबहादुर गुरुङ, उपाध्यक्ष मीना खरेल, सचिव विनोद शर्मा, कोषाध्यक्ष निर्देश सेढाईँसहित सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चितवन ३ (१) का प्रदेश सांसद ज्ञानुजङ्ग लामा, डीआइजी दुर्गा सिंह, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की, युवा उद्यमी मञ्च चितवनका अध्यक्ष विकल दाहाल, स्थानीय समाजसेवी विष्णु खराल, छायाँ श्रेष्ठ, मञ्जु खाँण, युवा उद्यमी अर्जुन रानाभाट र भरतपुर महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।

गत चैत्र १० गतेको नेपाल सरकारको निर्णयानुसार कुँवरलाई नेपाल प्रहरी प्रमुखको रुपमा पदोन्नति गरिएकोमा पीटुसीटुले आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा कुँवरले बालबालिकाका लागि प्रहरी नागरिक सहकार्य अभियानको वरिष्ठ उपाध्यक्ष भई निभाएको अभिभावकीय भूमिका तथा तत्कालीन समयमा चितवनको शान्ति, सुरक्षा र अमनचैनका लागि उनले खेलेको भूमिकाको मूल्यांकन गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।

वि.सं. २०७२ सालमा चितवनको प्रहरी प्रमुख हुँदा कुँवरकै पहलमा पीटुसीटुको स्थापना गरिएको थियो । विशेषत सडक बालबालिकाको उद्दारका लागि गठन गरिएको उक्त संस्थाले हालसम्म झन्डै ५० जना बालबालिकाको पुनस्र्थापना गरिसकेको छ भने हाल संस्थामा ३० जना सडक बालकहरु आश्रित छन् । बालबालिकाको खानपान, स्वास्थ्य, शिक्षा संस्थाले उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.