गुल्मीमा यस वर्ष लिची उत्पादनमा बृद्धि (तस्वीरहरु)

गुल्मी- गुल्मी जिल्लाको रुरुक्षेत्रको च्यूरेक, थोर्गामा यसवर्ष लिचि उत्पादनमा वृद्धि भएको छ । तर कृषकले भने फलमा किरा लाग्ने र उचित मुल्य पाउन सकेका छैनन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका अन्तर्गत वडा नम्बर १ र ३ का च्यूरेक, थोर्गा थानपतीमा किसानले वषौंदेखि लिची खेती गर्दै आएका छन् । यसवर्ष कृषि ज्ञानकेन्द्रले बिभिन्न विषादीहरु सहयोग गरेकाले लिची उत्पादनमा बृद्धि भएको हो ।

तर पछिल्ला केहि वर्षयता लिची उत्पादनमा व्यवसायिक रुपमा लागेका किसानहरु लिचीमा लाग्ने रोग किराको र उचित मूल्य नपाउँदा भने मर्कामा परेका छन् । लिची बिक्रीका लागि राम्रो बजार व्यवस्थापन नभएको कृषक परमानन्द ज्ञवाली बताउनुहुन्छ ।

उहाँले लिची बिक्रीका क्रममा प्रतिस्पर्धा नभएकाले बिचौलीयाले धेरै कमाउने तर वास्तविक कृषक मर्कामा पर्ने गरेको ज्ञवालीको भनाई छ । लिची खेतीबाट अन्य मकै, गहुँ खेतीमा भन्दा सहज भएकाले आम्दानी पनि बढी गर्न सकिने उहाँको भनाइ छ ।

च्यूरेक र थोर्गामा प्रत्येक घरमा न्यूनतम १० बोट देखि १५० बोटसम्म कृषकले लिचीका बोट रोपेर व्यवसायिक रुपमा खेती गर्दै आएका छन् । अहिले यसक्षेत्रमा उत्पादन भएको लिची किसानले ७० रुपैयाँमा बेच्न बाध्य छन् । तर बजार भने १ सय ५० देखि २ सय ५० सम्म प्रति किलो बेच्ने गरेका छन् ।

यहाँ उत्पादित लिची गुल्मी जिल्लासँगै, पाल्पा, बुटवललगायतका शहरहरुमा बिक्री हुने गरेको छ । यहाँका कृषकले अन्य बाली उत्पादनलाई बिस्थापित गर्दै लिची खेतीलाई मुख्य प्रथामिकता दिएर आम्दानी गरिरहेका छन् । अरु कृषिमा भन्दा लिची उत्पादनमा कम मेहनतका कारणले पनि उत्पादन हुने भएकाले यहाँका प्रत्येक घर छेउमा लिचीका बोट मात्रै देख्न सकिन्छ ।

यसवर्ष त्यस स्थानमा ६ सय ९७ मेट्रिक टन लिची उत्पादन भएको छ । थोर्गा र थानपतीमा १ करोड ५० लाख बराबरको लिची उत्पादन भएको कृषि ज्ञानकेन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो । त्यसमध्ये एक करोड रुपैयाँ बराबरको लिची जिल्ला बाहिर निर्यात हुने अनुमान गरिएको छ ।

लिचीमा लाग्ने रोग किरा र झर्ने समस्याको उपचारको लागि काठमाडौंस्थित बागबानी अनुसन्धान केन्द्र मालेपाटनबाट कृषि बिज्ञको टोलीले अनुसन्धान सुरु गरेको भण्डारीले बताउनुभयो । बिज्ञ टोलीले एक वर्षसम्म लिचीको रोग किराबारे अध्ययन गरेपछि त्यहि अनुसार उपचार गरेर यहाँको लिची उत्पादनलाई बढाउने लक्ष्य ज्ञानकेन्द्रले लिएको भण्डारीको भनाई छ ।

यसवर्ष ज्ञानकेन्द्रले लिची टिप्न असजिलो भएपछि निशुल्करुपमा २४ फिट अग्ला भर्‍याङ कृषकलाई वितरण गरेको छ । जसले गर्दा कृषकलाई माथीसम्म पुगेर लिची टिप्न सजिलो भएको छ ।

अहिले कृषि ज्ञानकेन्द्रले त्यस क्षेत्रमा उत्पादन बृद्धि गर्न र रोग किरा नियन्त्रण गर्न चासो देखाएपछि कृषकहरुमा उत्साह जगाएको रुरुक्षेत्र गाउँपालिकाका वडासदस्य एवं लिची कृषक घनश्याम ज्ञवालीले बताउनुभयो । रुरुक्षेत्र गाउँपालिकाको च्यूरेक लगायतका स्थानमा झण्डै सय भन्दा वढीले घर छेउ र बारीमा लिची लगाएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.