सिंचाई सुबिधा पुगेपछि कुमालटारीका कृषक हर्षित
गुल्मी- गुल्मी जिल्लाको कुमालटारीमा सिंचाइको व्यवस्था नहुँदा त्यहाँका कृषकहरु आकाशे पानीकै भरमा खेती गर्न बाध्य थिए । तर अहिले छल्दी खोलाको पानीलाई व्यवस्थित कुलो बनाएर सिंचाई सुबिधा पुराइएपछि कृषकलाई सहज भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिकाको वडानम्बर ६ को कुमालटारीमा वषौंदेखि आकाशे पानीको भरमा कृषकले खेती गर्न बाध्य थिए । तर अहिले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीले सिंचाई योजनाको काम सम्पन्न गरेपछि त्यहाँका कृषकलाई सहज भएको हो ।
सिंचाई अभावका कारण निकै कष्टपूर्ण अवस्थामा खेती गर्दै आएका कृषकहरुको माग अनुसार चार वर्ष अघिबाट त्यस स्थानमा सिंचाई आयोजनामार्फत काम भइरहेको थियो । सिंचाई योजना सम्पन्न भएपछि एक कार्यक्रमका बिच कोष तथा लेखा नियन्त्रक छबिन्द्र बेल्वासेले काम सम्पन्न भएको सम्झौता पत्र उपभोक्ता समितिलाई हस्तातरण गर्नु भएको हो ।
२ हजार ३ सय मिटर लम्बाईसम्म कुलो निर्माण गरेर कुमालटारीका खेतमा पानी पुर्याइएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले जानकारी दिनुभयो । कुमालटारी सिंचाई आयोजना मार्फत २० हेक्टर क्षेत्रफलमा ४५ घर धुरीले फाइदा लिन पाउने भएका छन् ।
जनश्रमदान बाहेक २ करोड ७३ लाख ३३ हजार ५५९ रुपैयाँको लागतमा उक्त योजना सम्पन्न भएको सापकोटाले बताउनुभयो । सिंचाई आयोजना जोग्मा कालिका र साइसा कन्टक्शन प्रालिले तोकिएकै मितिमा आयोजना सम्पन्न गरेका हुन् ।
सोहि आयोजनामार्फत अझै केहि खेतसम्म पानी पुर्याउन बाँकी रहेकाले अब अर्को आर्थिक वर्षमा निर्माय कार्य अगाडी बढाइने भएको छ । उब्जाउ योग्य कुमालटारीमा त्यहाँका कृषकले सामान्य ढंगले खोलाको पानी लैजाने गरेपनि छिल्लो केहि वर्ष यता आकाशे पानी कुर्न बाहेक अन्य बिकल्प थिएन ।
प्रतिक्रिया राख्नुहोस्