एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिनुभएको थियो ।

सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन कुनै व्यक्ति दिल्ली गएको भनी अभिव्यक्ति दिनुभएको भन्दै त्यसप्रति आपत्ति जनाउनुभयो ।

उहाँले नेपालको प्रधानमन्त्री नेपाली जनताका प्रतिनिधि रहने सर्वाेच्च थलो सार्वभौम संसद्ले बनाउने व्यवस्था रहेको र कुनै व्यक्ति र बाह्य मुलुकले प्रधानमन्त्री बनाउन पहल गरेको सन्देश जाने गरी अभिव्यक्ति दिनु संविधान र मुुलुकको स्वाधीनता विपरीत भएको टिप्पणी गर्नुभयो ।

सांसद घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकको नियमित कारबाही सञ्चालन हुननसक्ने स्पष्ट पार्नुभयो । अध्यक्ष तिमिल्सिनाले बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको र यसलाई निष्कर्षमा पुर्याउन समय कम भएकाले बैठक पुनः सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।

तर एमालेका सांसदहरु उभिएर विरोध जारी राखेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गर्नुभयो । राष्ट्रियसभामा विनियोजन विधेयकका बाँकी विभिन्न शीर्षकमाथिको छलफलका लागि यही असार २४ गते निर्धारण गरिएको छ छ । साथै छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीको जवाफका लागि असार २५ र २६ गतेको समय तोकिएको छ । राष्ट्रियसभाको अर्काे बैठक यही असार २४ गते बिहान ११ः३१ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.