तीन वर्षदेखि पोखरा बाग्लुङ राजमार्ग एकतर्फी

कास्की- पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउँदुरकोटमा सडक भाँसिएको करिब तीन वर्ष बित्न लाग्दासमेत मर्मतमा ढिलासुस्ती भएपछि त्यहाँ एकतर्फी मात्रै यातायात संचालन हुँदै आएको छ ।

उक्त स्थानमा करिब सय मिटर सडक भासिएकोमा निर्माण कम्पनी काठमाण्डौंस्थित ओमबुद्ध इन्टरनेशनलले सुस्तगतिमा कार्य गर्दा यतिका वर्षसम्म त्यहाँ यात्रामा कठिनाई भएको हो ।

रु. तीन करोड ६४ लाख लागतमा मर्मत जिम्मा लिइएको उक्त खण्डको दोस्रो पटक थपिएको म्यादसमेत यहि असार ५ गते सकिएको छ । जसअन्तर्गत हालसम्मको प्रगति ३५ प्रतिशत मात्रै भएको छ ।

सडक भासिएसँगै वर्षाको समयमा सो क्षेत्रमा यातायात आवाजजावतमा असहजता हुनुका साथै विशेष गरी ठुला तथा मालबाहक सवारी साधनलाई निकै सकस भइरहेको छ ।

साना सवारी संचालनलाई भने त्यहाँस्थित पत्थर मराउँचे काँडे सडक साथै पत्थर पाउँदुरकोट सडकलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गरिएको भएपनि ति सडक समेत साघुरो र कच्ची भएका कारण त्यहाँ यात्रा गर्न पनि त्यती सहज छैन ।

तीन वर्ष अघि मात्रै उक्त सडकखण्ड अन्तर्गतको घट्टेखोलादेखि नयाँपुलसम्म काठमाण्डौंस्थित एपेक्स कन्स्ट्रक्सनले रु. ८५ करोडको लागतमा मध्य पहाडी लोकमार्गका रुपमा स्तरउन्नति गरेको थियो ।

गण्डकीको म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत तथा लुम्बीनीको पूर्वी रुकुम र रोल्पाबाट पोखरा, काठमाडौं लगायत देशका विभिन्न स्थानमा आउजाउ गर्ने हजारौं यात्रुहरु सडक भासिएका कारण त्यहाँ दैनिक अलपत्र पर्ने गर्नुभएको छ ।

त्यहाँ ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्तर्गत हालसम्म ६५ मिटरको फाउन्डेसन (जग) मात्रै बनेको छ भने १५ मिटरको काम अझै पनि सुरु हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.