मालिकाको रैथाने आलु लेवलिङ र प्याकेजिङ गरेर बजारमा
गुल्मी- गुल्मी जिल्लाको मालिका गाउँपालिकाको अर्खाबाङ्गमा उत्पादन भएको रैथाने आलुलाई ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको छ । परम्परात रुपमा पुरानै शैलिमा उत्पादन हुँदै आएको स्थानीय जातको आलुलाई व्यवस्थित रुपमा बजारीकरण गर्नका लागि ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको हो ।
‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने नाराका साथ गुल्मी जिल्लाको मालिका गाउँपालिका र कृषि ज्ञानकेन्द्रले प्रबद्र्धन गरेर आलुको ब्राण्ड लेवल र प्याकेज सार्वजनिक गरिएको हो ।
जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले आलु ब्राण्ड लेवल र प्याकेज सर्वजनिक गर्नुभएको थियो ।
स्थानीय जातको रैथाने आलुलाई मालिकाको पहिचान रैथाने र अर्ग्यानिक आलुको उत्पादन भन्ने ब्राण्ड राखेर ५ केजी, १० केजी र २० केजीका बोरामा प्याकेज गरेर बजारमा ल्याइएको हो । आलुको ब्राण्डिङ्गसँगै किसानहरुमा बजारीकरण चिन्ता नहुने भएकाले उत्साह जगाएको अगुवा कृषकहरुको भनाई छ ।
अर्खाबाङ्गका स्थानीयले वषौंदेखि बारीमा बीउ नरोपी फलाउँदै आएको वर्षे आलु कृषिको आधुनिकीकरण नाममा लोप हुने अवस्थामा पुगेपछि त्यसलाई ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
रैथाने सेतो आलु एक वर्ष लगाएपछि वर्षौं लगाउन नपर्ने यस ठाउँको बिशेषता रहेको छ । गाउँपालिकाले अब दिर्घकालीन योजना बनाएर आलुखेती र बजारीकरणमा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति गुल्मी प्रमुख द्रोर्ण खत्रीले बताउनु भयो ।
कृषकहरुलाई उत्पादनसँग जोडिएर रहनका लागि र उपजको मूल्य बृद्धि गर्न स्थानीय जातको आलु प्याकेज गरिएको मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताउनुभयो ।
यहाँ सामान्य ढंगले फागुनमा मकै छर्दा आलु लगाउने र असारमा कोदो रोप्दा आलु खनेर भित्र्याउने गरिन्छ । सो क्षेत्रको आलु अर्ग्यानिक भएकाले खानामा स्वादिष्ट र पोशिलो हुने हुँदा जिल्लाभरनै चर्चीत छ ।
प्रतिक्रिया राख्नुहोस्