पोखराको पृथ्वीचोक क्षेत्रमा पार्किङ निषेध

कास्की- पर्यटकीय शहर पोखराको पृथ्वीचोकदेखि सेतीपुल (चाईनापुल)सम्मको राजमार्ग क्षेत्रमा सवारी साधन पार्किङमा रोक लगाइएको छ ।

राजमार्गसँगै बसपार्क जोडिएकाले सडकमा पार्किङ गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आउनुभएका पर्यटकहरुले बसपार्क अव्यवस्थित देख्दा पोखराको सुन्दरता माथि नै प्रश्न उठेपछि त्यस क्षेत्रबाट पार्किङ हटाइएको हो ।

जसकारण यसअघि उक्त सडक क्षेत्रबाट गन्तव्यका लागि छुट्ने गरेका लामो तथा छोटो दूरीका यातायातका साधनहरु अबदेखि पृथ्वीचोकस्थित बसपार्क भित्रबाटै छुटाउनुपर्ने भएको हो ।

सडक पेटीमै बस पार्किङ गरेर यात्रु चढाउँदा र झार्ने गर्दा मुख्य बजार क्षेत्र अस्तव्यस्त भएपछि जिल्ला सुरक्षा समिति कास्की तथा पोखरा महानगरपालिकाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

पार्किङ हटेसँगै हिजोदेखि नै पोखरा प्रवेश गर्ने तथा पोखराबाट बाहिरिने सम्पूर्ण बस सेवा बसपार्क भित्रबाटै सञ्चालनमा आएका छन् ।

त्यस्तै दुई दिनभन्दा बढी बसपार्कमा होल्ड भई बस्ने सवारी साधनहरुलाई महानगरपालिकाले आफ्नो प्रशासनीक भवन निर्माणस्थल ड्यामसाइडमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

सडक छेउमा हुने पार्किङका कारण सवारीको आवागमनमा असहजता सहित दुर्घटनाको जोखिम समेत बढेपछि अनधिकृत पार्किङ हटाइएको महानगरपालिका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

महानगरले यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीयवासी लगायतको समन्वयमा नै उक्त निर्णय लिएको पनि जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.