कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण
काठमाडौं- कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नुभएको छ ।
भ्रमणका क्रममा उहाँलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराउनुभएको थियो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले वीरेन्द्र अस्पतालको ओपिडी भवन, आकस्मिक कक्ष, ट्रमा हल तथा अस्पतालका विभिन्न ओपिडी कक्षहरूका साथै भविष्यमा निर्माण गर्ने योजनामा रहेको मास क्याजल्टी ट्रिटमेन्ट सेन्टर क्षेत्रको अवलोकन गर्नुभयो ।
त्यस अवसरमा अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारीले अस्पतालको विविध गतिविधिबारे प्रस्तुतीकरणमार्फत जानकारी गराउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वीरेन्द्र अस्पताल र नेपाली सेनाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान नीतिगतलगायतका सबै समस्या समाधानका लागि आवश्यक पहल थाल्न निर्देशन दिनुभयो ।
सो क्रममा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्का, सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डा अरुण शर्मा, रथीवृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत अस्पतालका विभिन्न विभागका प्रमुखको उपस्थिति रहेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्