ठेकेदारको लापरबाहीः सातपटक म्याद थप्दा पनि तीन किलोमिटर सडक कालोपत्रे भएन

गुल्मी- गुल्मी जिल्लामा एउटा सडकको सातपटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत काम हुन सकेको छैन । जसले गर्दा नागरिक आक्रोसित हुन थालेका छन् ।

जिल्लाको सदरमुकाम तम्घास खाम्सेपानी नयाँगाउ नादी सूर्यटारी सडकको बिचमा झण्डै तीन किलो मिटर सडक कालोपत्रे गर्ने कार्य आठ वर्षदेखि अलपत्र हुँदै आएको छ । अहिले यो सडकको बिभिन्न खण्ड खण्ड बनाएर काम भइरहेको छ ।

सडकको सुरुको खण्ड तम्घास खाम्सेपानी अन्तरगत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर तीन वर्ष अघि नै कालोपत्रे भएको थियो ।

निर्माण व्यवसायीले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन् । व्यवसायीले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेको थियो । यो समयमा पनि कालोपत्रे गर्ने काम कुनै पनि भएको छैन ।

सडकको २०७१ साल असार ३१ गते सम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरीकले सास्ती खेप्नु परेको छ ।

सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैया लागतमा निर्माणको जिम्मा दिइएको थियो । सडक खण्डको साढे दुई किलोमिटर भन्दा बाँकी खण्डको केहि ठाउँमा दुई वर्षअघि नै कालोपत्रे भएको छ ।

सडक कालोपत्रे नहुँदा त्यहाँका नागरिकले महङ्गो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । झण्डै नौ वर्षसम्म सडक अलपत्र हुँदा निर्माण व्यवसायीलाई काम पुरा गर्न पहल नभएको स्थानीय मेघनाथ पाण्डेको भनाई छ ।

उहाँले यतिका समयसम्म पनि कालोपत्रे गर्ने जिम्मा लिंदा काम गर्न नसक्नु दुखको कुरा भएको बताउनुभयो । लामो समयसम्म सडक कालोपत्रे गर्ने कार्य नहुँदा त्यस भेगका नागरिकले गुहार पाएका छैनन् ।

सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकहरु वर्खायाममा हिलाम्मै र हिउँदमा धुलाम्मै सडकमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । कालोपत्रे गर्ने गरि सडकको नाली र ग्राभेल गर्ने काम गरिएको थियो ।

सडक सुरुमा पाल्पा सडक डिभिजन कार्यालय हुँदै, तम्घास सिमलटारी प्यूठान सडक, सडक पूर्वाधार विकास कार्यालय सिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेर्दै आएको छ । सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तिय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ ।

प्रगति भनिए पनि सडकको मुख्य काम कालोपत्रे भएकै छैन । असारमा काम गर्न लागेझैं गर्ने र वर्षातलाई दोष दिएर उम्किने निर्माण व्यवसायीको निहुँ बन्दै आएको छ ।

सडकको बेस निर्माण र कालो पत्रे काम बाँकी रहेको सडक पूर्वधार विकास कार्यालय गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई पटक पटक ताकेता गर्दा पनि कुनैपनि काम हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.