सय किलो सुन प्रकरणः टोखास्थित ‘कारखाना’मा राजस्व अनुसन्धान विभागको छापा
काठमाडौं- करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले टोखास्थित ‘कारखाना’मा छापा मारेको छ । टोखा गेट नजिक रहेको सो कारखानामा तस्करी गर्ने समूहले चीनबाट ल्याएको सुन ‘रिफ्रेमिङ’ गर्ने गरेका थिए ।
राजस्व अनुसन्धान विभागका महानिर्देक नवराज ढुङ्गानाका अनुसार टोखामा सुन गालेर त्यसलाई रिफ्रेमिङ गरी तस्करले बाहिर लैजाने गरेको पाइएपछि उक्त कारखानालाई सिल गरिएको छ ।
तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङको बयानको आधारमा सो कारखाना भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतको भनाइ छ । सो कारखानाबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।
अहिले उक्त क्षेत्रलाई सिल गरिएको छ । राजधानीमै सुनलाई गालेर अन्यत्र लैजाने व्यवस्थासहितको यो कारखाना देखिएकाले यसमा संलग्न धेरै हुनसक्ने विभागको ठम्याइ छ । यद्यपि सुन कुन रुपमा परिणत गरिन्थ्यो भन्ने बारे खुलिनसकेको महानिर्देशक ढुङ्गाना बताउनुहुन्छ ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो । सुन ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याउने गरेको भेटिएको छ । ‘ब्रेक प्याड’मा ल्याएको सुन कारोबारीहरूले अर्कै स्वरूपमा रिप्याक गरेर भारत पठाउने गरेको अनुसन्धान अधिकृतहरूको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
यो प्रकरणमा संलग्न भएको आरोपमा चिनियाँ र भारतीय एक-एक नागरिकसहित अहिलेसम्म १७ जना पक्राउ परिसकेका छन् । सरकारले यो विषयलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्