कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनु उपयुक्तः राप्रपा अध्यक्ष लिङ्देन
मोरङ- राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग बनाउनुपर्ने बताउनु भएको छ ।
मंगलबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सुन तस्करीको घटनाक्रम र स्थिति हेर्दा सामान्य छानबिनबाट दोषी पत्ता लाग्ने स्थिति नभएको र उच्चस्तरबाट संरक्षण प्राप्त भएको देखिएकोले पूर्व न्यायाधिसको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति बनाउनु उपयुक्त हुने बताउनु भयो । उहाँले अर्थमन्त्री वा गृहमन्त्रीको राजिनामा भन्दा उच्चस्तरीय छानबिन समिति बनाउनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा अध्यक्ष लिङ्देन कोशी प्रदेशमा प्रदेश सरकार एमाले र कांग्रेस मिलेर बनाउनु उपयुक्त हुने बताउनु भयो । उहाँले सत्ताका लागि संसदीय मूल्य र मान्यता मिच्नु गलत भएको टिप्पणी गर्दै सभामुखलाई राजिनामा गराउँदा गलत परम्परा बस्ने धारणा व्यक्त गर्नुभयो ।
एक प्रश्नको जवाफमा प्रमुख राजनैतिक दलका नेता तथा सरकार नै संविधान उल्लंघनमा सक्रिय भएका कारण एक महिना अघि नै प्रधानन्यायाधिस सिफारिश गर्नुपर्ने संवैधानिक प्रावधान उल्लंघन गरिएको बताउनु भयो । उहाँले भागबण्डाका कारण न्यायालयहरुमा न्यायाधिस नियुक्ति हुन नसकेकेा आरोप लगाउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्