मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण, पूर्व सभामुख गौतमसहित चार सदस्यीय मन्त्रीमण्डल गठन

मोरङ- पूर्व सभामुख बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार दिंदै कोशी प्रदेशमा चार सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

यसैगरी प्रदेश प्रमुख खापुङले आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम, खानेपानी सिंचाई तथा उर्जा मन्त्रीमा प्रदीप सुनुवार र भौतिक पर्वाधार विकास मन्त्रीमा कमल प्रसाद जवेगुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा साउन १६ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

शपथ ग्रहणपछि मुख्यमन्त्री उद्धव थापाले चाँडै विश्वासको मत लिने जानकारी दिंदै मन्त्रीमण्डललाई पूर्णता दिने बताउनु भयो । उहाँले अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर बजेट कार्यान्वयनको प्रक्रियामा लैजाने जानकारी दिनुभयो ।

सभामुखबाट राजिनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएका बाबुराम गौतमले पार्टीको निर्णयअनुसार आफु मन्त्रीमण्डलमा सहभागि भएको बताउनु भयो । उहाँले आफ्नो कार्य र गतिविधिले संसदीय मूल्यमान्यतामा कुनै हानी नोक्सानी नभएको जिकिर गर्नुभयो ।

सर्वोच्च अदालतको आदेश पछि सभामुख बाबुराम गौतमले सभामुखबाट राजिनामा गरेर नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ जनाको समर्थनमा उद्धव थापा मुख्यमंत्री बन्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.