बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक: अध्यक्ष ओली

ललितपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अहिले बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित तुल्सीलाल अमात्यको २६औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक दल, मुलुकलाई माया गर्ने परिवर्तनकारी शक्तिलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आह्वानसमेत गर्नुभयो ।

“म सबै पार्टीका साथीलाई आग्रह गर्न चाहन्छु । देशलाई माया गर्ने शक्ति एक ठाउँमा आउँदा राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “हामी साँच्चै परिवर्तनकारी हौँ भने सानातिना कुरा छाड्नुपर्दछ । एकताबद्ध भएर परिवर्तनका लागि अगाडि बढ्नुपर्दछ । राष्ट्रिय शक्ति त्यसका लागि निर्माण गर्नुपर्दछ ।”

उहाँले व्यक्तिगत ‘इगो’का कुरा छाडेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने भनाइ राख्नुभयो । “बलियो, सुदृढ, व्यापक राष्ट्रिय शक्ति निर्माण गरौँ । जसले देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहितको रक्षा र सम्वर्द्धन गर्न सक्दछ ।

आफ्नो स्वतन्त्र नीतिका साथ अगाडि बढ्न सक्दछ । स्वतन्त्र ढङ्गले आफ्ना राष्ट्रिय आवश्यकता प्राथमिकता तोक्न र देशको विकास स्वतन्त्र ढङ्गले गर्न सक्दछ । त्यस्तो शक्ति आवश्यक रहेको छ”, उहाँले भन्नुभयो ।

एउटा सानो स्वार्थ पूरा गर्न, एउटा अवसरका लागि काम गर्ने कि राष्ट्रिय हितका काम गर्ने भन्ने प्रश्न उठेको भन्दै योजनाबद्ध ढङ्गले विकास निर्माणका काम अगाडि बढाउन सक्ने, शान्ति सुव्यवस्था काम गर्नसक्ने शक्तिको आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले राष्ट्रिय शक्ति निर्माणका लागि सबै गोलबन्द हुन आवश्यक रहेकोसमेत बताउनुभयो । “विभिन्न पार्टीमा रहेका देशलाई माया गर्ने लोकतन्त्रलाई माया गर्ने कार्यकर्तालाई म आग्रह गर्नु चाहन्छु । आउनुहोस् गोलबन्द हौँ । राष्ट्रिय शक्ति निर्माण गरौँ । देशको रक्षा गरी अगाडि बढौँ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको नेता ओलीले तुल्सीलाल अमात्यबाट देश बनाउने कुरा सिक्नुपर्ने भनाइ राख्नुभयो । उहाँले तुल्सीलालले गरेको बाँकी कामलाई सफलतापूर्वक अगाडि बढाउन र सफलताको विन्दुमा पुर्‍याउने सङ्कल्प हिँडेकाले एकजुट हुन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले सुन तस्करका सम्बन्धमा सरकारले छानबिन समिति बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.