सिचाई अभावमा हजारौं रोपनी जग्गा बाँझै

कास्की- समयमै कुलो मर्मत नहुँदा कास्कीको ढिकुरपोखरीस्थित सिम्ले क्षेत्रको हजारौं रोपनी खेतीयोग्य जमिन बाँझो रहन गएको छ ।
जसकारण उक्त क्षेत्रमा विस्तारै दुबो, गन्य झार, वनमारो, पाती तथा स-साना बुट्यान हुर्किंदै गर्दा खेत झाँडीमा परिणत हुन थालेको छ । त्यसका साथै आकासे पानीको भरमा बल्लबल्ल रोपिएको खेत समेत पर्याप्त पानी नपर्दा धाजा फाँट्न पुगेको छ ।
उक्त क्षेत्रमा स्थानीय गहते पाखा हुँदै जाने नेपाने कुलो, माँझखन्नको कुलो, डुड कुलो तथा मल्लाते गैरीको कुलो पहिरोका कारण हाल नामेट जस्तै छन् । त्यस्तै अधिकारीडाँडा नजिकै सुर्काको खोलाबाट विगतमा त्यस क्षेत्रमा लैजाने गरिएको कुलो समेत पहिरोले भत्काएको छ ।
हजारौं मुरी काँठे तथा मार्सी फल्ने धनखेत बाँझै रहन पुग्दा स्थानीय किसानहरु भने चिन्तामा परेका छन् । त्यस्तै त्यहाँ सिम्लेदेखि जन्मजयको ढुङा हुँदै भाषणटारीसम्म, सिम्ले माथिको कुसुन्डे तथा गैरीका अधिकाश जग्गामा पनि सिचाई अभावकै कारण खेती गर्न सक्ने अवस्था छैन ।
सिचाईकै कारण आफ्नो जग्गा बाँझै छाडेर अर्काको जग्गा कमाएर खानुपर्ने बाध्यता रहेको स्थानीय किसान महेश्वर भण्डारीको भनाइ छ । यता गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बाँझो जग्गाबारे अनविज्ञता प्रकट गर्दै सिंचाईकै कारण बाँझो रहन गएको भए सिचाई पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्