घर अभिलेखिकरणका नाममा तेहेरो शुल्क उठाउँदै पोखरा महानगर

कास्की- पोखरा महानगरपालिकाले अदालतको आदेशविपरीत एउटै घरको तीन पटकसम्म अभिलेखिकरण शुल्क लिएको भन्दै नगरवासीले विरोध जनाएका छन् ।

महानगरले पटक पटक अभिलेखिकरण शुल्क उठाएकोमा १५ कात्तिक २०७८ मा हेमजा निवासी विश्वराज पौडेल, चिरञ्जीवी अधिकारी तथा अधिवक्ता माधवराज बास्तोलाले उच्च अदालत पोखरामा रिट दायर गरेकोमा सोही दिनको भोलिपल्ट अदालतले अन्तरिम आदेश जारी गर्दै महानगरलाई पटक पटक शुल्क नउठाउन आदेश दिएको थियो ।

जसको पूर्णपाठ गत वर्ष १५ कात्तिकमा आएकोमा कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य तथा न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले गरेको उक्त फैसलाको गत वर्ष फागुन ३ मा प्रमाणिकरण समेत भएको थियो ।

अदालतको मानहानी हुने गरी महानगरले शुल्क उठाएकोमा पोखरामा गाभिएका तत्कालिन १० गाविसवासीले अहिले विरोध जनाएका हुन् ।

साविक गाविस हुँदा घरनक्सा अभिलेखिकरण वापत रकम तिरेकोमा पोखरा उपमहानगरपालिकामा गाभिएसँगै र अहिले महानगर बनेपछि एउटै घरको पटकपटक अभिलेखिकरण वापत रकम उठाएर महानगरले ठगी गरेकाले बाध्य भएर विरोध गर्नुपरेको हेमजा निवासी भरतचन्द्र गौतमले बताउनुभयो ।

नगरवासीले दोहोरो, तेहेरो अभिलेखिकरण करको मारमा महानगरवासी परेको, पुरानो घरलाई पनि पटकपटक नयाँसरह कर लिएको, अभिलेखिकरण गर्दा घर बनेको मिति समेत नखुलाएको, २० औं वर्षसम्म धुरीकर तिर्दै आएकालाई पनि फेरी अभिलेखिकरण वापत शुल्क लिएको भन्दै स्थानीयले आरोप लगाएका छन् ।

यता पोखरा महानगर प्रवक्ता समेत रहनुभएको पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले अदातलको फैसलालाई महानगरले कार्यान्वयन गर्ने भन्दै यसबारे यथाशीध्र कार्यपालिका बैठकबाट निर्णय गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.