दोलखा पहिरो अपडेटः दुई जनाको मृत्यु, दुई जना अझै बेपत्ता, बेपत्ताको खोजी जारी

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा बेपत्ता थप एक महिलाको शव फेला परेसँगै मृतकको संख्या दुई पुगेको हो । पहिरोमा पुरिएको अवस्थाबाट मार्वु टोपाटारकी ५० वर्षीया देवीमाया मगरको शव फेला परेको दोलखाका प्रहरी नायव उपरिक्षक दिपक खड्काले बताउनुभयो ।
आज दिउँसो मार्वु टोपाटारकै १५ महिने नाबालक प्रिन्स थामीको शव फेला परेको थियो । टोपाटार पहिरोका गम्भीर घाइते भएका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
गौरीशंकर–७ मार्बु टोपाटार पहिरोमा परी घाइते भएका ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ ।
यस्तै पहिरोमा परी घाइते भएकी बुहारी सिता थामीको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरिक्षक खडकाले बताउनभयो । पहिरोमा परी दुईजना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा सोही स्थानका ६० वर्षीय कृष्णमगर र ४९ वर्षीय हरिलाल श्रेष्ठ रहेका छन् । पहिरोमा बेपत्ता २ जनाको नेपाली सेना, जनपद र सशस्त्र प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्