गोलभेडाले उचित मूल्य पाएपछि गुल्मीका कृषक उत्साहित

गुल्मी- गोलभेडाले उचित मूल्य पाएपछि गुल्मीका कृषकहरु उत्साहित भएका छन् । पछिल्लो केहि दिनयता गोलभेडाले मूल्य बृद्धि भएको छ । जसले गर्दा कृषकले अहिलेसम्म कै उच्च मूल्यमा बिक्री गर्न पाएका छन् ।

कुनै दिन गोलभेडाले उचित मूल्य नपाएपछि सडकमा समेत कृषकले फाल्न बाध्य हुने गरेका थिए । तर अहिले कृषकहरुले उच्च मूल्य पाएपछि हर्षित छन् । जिल्लाको तम्घासमा सोमबारको बजार मूल्य १८० रुपैयाँमा बिक्री भइरहेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष धनबहादुर रानाले बताउनुभयो ।

भारतबाट गोलभेडा नआएको र नेपालबाट भारततर्फ निर्यात भइरहेकाले अहिले मूल्य दिनप्रतिदिन बढदै गएको रानाले बताउनुभयो । जिल्लामा हाल १२० रुपैयाँ देखि १४० रुपैयाँ सम्ममा कृषकले घरबाटै बेच्न पाएका छन् ।

यो मूल्य अहिलेसम्मकै उच्च मूल्य रहेको जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर १ का अगुवा कृषक दानबहादुर पल्लीले बताउनुभयो । पाँच हजार गोलभेडाका बोट लगाएका पल्लीले मात्रै दैनिक तीन क्‍वीन्टल बढी उत्पादन गर्दै आएका छन् ।

पल्ली जस्तै गोडभेडा उत्पादनक कृषकहरु मूल्य पाएपछि खुसी भएका छन् । गोलभेडाको मूल्य बृद्धिहुँदा बास्ताविक कृषकहरुले यसवर्ष सोचभन्दा बढी मूल्य पाउन सफल भएको अर्का कृषक झबि पाण्डेले बताउनुभयो ।

उहाँले कृषि गर्न लागेको अहिलेसम्ममा यतिधेरै मूल्य पाएको पहिलो पटक भएको बताए । अहिले मूल्य पाउदा निकै उत्साह जगाएको पल्लीले बताउनुभयो ।

उहाँले उत्पादन गरेको गोलभेडा स्थानीय मजुवा बजार र बाँकी रहेको बुटवलमा पठाउने गरेका छन् । टनेल भित्र लगाएको बोटले चैत्रसम्म उत्पादन दिने पल्लीको भनाइ छ ।

पल्ली हुँगा कृषि स्मार्ट गाउँ कार्यक्रमका अध्यक्ष समेत हुनुहुन्छ । हुँगामा कृषि स्मार्ट गाउँकार्यक्रम अन्तर्गत गाउँ नै कृषि पेसामा लागेर बिभिन्न तरकारी बाली उत्पादन गर्ने गरेका छन् ।

उहाँले त्यसक्षेत्रमा उत्पादन भएका तरकारी संकलन गरेर बजार पठाउने काम समेत गर्दछन् । त्यस क्षेत्रमा एउटै व्यक्तिले ४ सय रोपनी जग्गामा तरकारी खेती गर्ने कृषकहरु छन् ।

यस क्षेत्रमा कृषि ज्ञानकेन्द्रले कृषकहरुका लागि बिभिन्न सहयोगका कार्यक्रमहरु राखेको छ । जसले गर्दा कृषकहरु उत्साहित भएर कृषि गर्दै आएका छन् ।

अहिले भारतबाट टमाटर नेपाल नभित्रिएकाले कृषकले उचित मूल्य पाएका हुन् । जिल्लामा कमल ज्ञवाली, इमानसिंह कली, बिमल अर्याल र दानबहादुर पल्ली गोलभेडा उत्पादन गर्ने ठूला कृषकहरु रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जिल्लाको १२ वटै स्थानीय तह गोलभेडा पकेट क्षेत्रका रुपमा परिचित छन् । जिल्लाबाट प्रतिदिन ३५ कुन्टल गोलभेडा निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

जिल्लामा १० हजार ४४ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । त्यसमध्ये १ सय ९ हेक्टर क्षेत्रफलमा गोलभेडा उत्पादन हुने गरेको भण्डारीले बताउनुभयो ।

जिल्लाबाट साउन महिनाको २१ गतेसम्ममा १ करोड २० लाख रुपैयाँको गोलभेडा निर्यात भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाबाट वर्ष भरमा ५ करोड ११ लाख रुपैयाँको निर्यात हुने गरेको तथ्याङ रहेको छ ।

जिल्लामा गत बर्ष भन्दा यो बर्ष क्षेत्रफल तथा उत्पादनमा कमि भएको भण्डारीले बताउनुभयो । तर बजारमा माग बढी छ । यो समयमा भारतमा गोलभेडा निर्यात भएको कारण मूल्य उच्च भएको भण्डारीले बताउनुभयो ।

जिल्लामा ०७८/०७९मा १२१ हेक्टर क्षेत्रफलमा २ हजार ४१० मेटन गोलभेडा उत्पादन भएको थियो । गएको आर्थिक वर्ष ०७९/०८० मा १०९ हेक्टर क्षेत्रफलमा १ हजार ९९४मेटन गोलभेडा उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.