भाइलाई बचाउन दिदीको चित्कार ! तर सुनिदिने कसले ?
दाङ- ‘मेरो भाइलाई बचाइदिनुस् मेरो भाइ आईसीयूमा छ, कृपया बचाइदिनुस् !’
यो चित्कार हो त्रिपना बाँठाको ।
रोल्पाको माडी गाउँपालिका-४ कि २८ वर्षीया त्रिपना आफैँ पनि गम्भीर घाइते हुनुहुन्छ । तर उहाँलाई आफ्नो भन्दा पनि कान्छो भाइ जीतबहादुरलाई कसरी बचाउने भन्ने चिन्ता छ ।
बुवाको केही वर्षअघि नै मृत्यु भएपछि आमा र दुईवटा भाइलाई पाल्ने अभिभारा पूरा गर्दै आउनुभएकी त्रिपना दशैं खर्चको जोहो गर्न मंगलवार विहानै भारतको सिम्लामा स्याउ टिप्न दुईभाइलाई लिएर हिड्नुभएको थियो ।
तर यस वर्षको दशैं त्रिपनाका लागि जीवनको अविस्मरणीय पीडादायी बन्यो । घर्तीगाउँबाट घोराहीको गाडी चढेर घोराहीबाट फेरि गाडी फेर्नुपर्ने थियो तर घोराही नपुग्दै त्रिपनाले जेठो भाइ प्रकाशलाई रोल्पामै सदाका लागि गुमाउनुपर्यो ।
रोल्पाको त्रिवेणी गाउँपालिका-७ रिचीमा मंगलवार दिउँसो भएको बस दुर्घटनामा २२ वर्षीय जेठो भाइ प्रकाशको घटना स्थलमै ज्यान गयो भने त्रिपना र कान्छो भाइ जीतबहादुर गम्भीर घाइते हुनुभयो ।
त्रिपना र जीतबहादुरको अहिले दाङको घाराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्रिपनाको ढाडमा गम्भीर चोट लागेको छ भने भाइको खुट्टामा गम्भीर चोट र हड्डी भाँचिएर अत्यधिक रगत बगेका कारण आईसीयूमा उपचार भइरहेको छ ।
‘आमा घरमा बेहोस हुनुहुन्छ रे’ रुदै त्रिपनाले भन्नुभयो ‘मेरो कान्छो भाइलाई जसरी पनि बचाइदिनुस् ।’ अस्पताल पुग्ने जो-कोहिसँग त्रिपनाले आग्रह गरिरहनुभएको छ।
रोल्पाको त्रिवेणी गाउँपालिका-७ रिचिमा मंगलवार यात्रुबाहक बस दुर्घटना हँदा ४ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन् ।
रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रिची भन्ने ठाउँमा अनियन्त्रित भई घुम्तीसडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा त्रिपनाका जेठो भाइ प्रकाशसहित माडी गाउँपालिका-४ का ५० वर्षका गोरख डाँगी, डाँगीकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका-३ का ४५ वर्षका भक्तबहादुर बि.कको मृत्यु भएको थियो ।
त्रिपना र उहाँको कान्छो भाइ जीतबहादुरसहित अन्य घाइतेहरुको दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा अधिकांश रोल्पाको माडी गाउँपालिकाका रहेका छन् ।
दुर्घटना स्थलको सडक खासै नबिग्रेको र तिब्र गतिका कारण दुर्घटना भएको बसमा सवार यात्रुहरुको भनाइ छ ।
दाङको घोराही–१२ हापुरे निवासी २४ वर्षीय चालक हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्