डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा उत्पादित सबै अंगुर स्थानीय सरकारलेनै किन्ने
डोल्पा- हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा उत्पादित कृषकको अंगुर नगरपालिकालेनै खरिद गर्ने भएको छ । नगरपालिकामा पर्ने त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ्ग, फोई लगायतका विभिन्न स्थानमा व्यवसायिक रुपमा उत्पादन गरिएको सबै अंगुर नगरपालिकाले नै खरिद गर्ने भएको हो ।
बजारीकरणको अभावमा प्रत्येक बर्ष कृषकले व्यहोर्नु परेको लाखौँ घाटालाई मध्येनजर राख्दै यस बर्ष नगपालिकाभरीको सम्पुर्ण अंगुर नगरपालिकालेनै खरिद गर्ने निर्णय भएको नगरप्रमुख जनचन्द्र रोकायले बताउनुभयो । यसरी खरिद गरिएको अंगुरको जुस बनाएर नगरपालिका आफैले विक्रि वितरण गरिने रोकायको भनाई छ ।
नगरपालिकाले अंगुरको भुक्तानी प्रतिकिलो असी रुपैयाँका दरले एकमुष्ट रुपमा कृषकलाई उपलब्ध गराउने भएकाले यस बर्ष कृषकलाई डोकोमा बोकेर बजार खोज्दै जानुपर्ने बाध्यता हटेको र कृषकहरु पनि धेरै खुशी भएको नगरप्रमुख रोकायले बताउनुभयो ।
नगरपालिकाभरीका सम्पुर्ण कृषकको अंगुर किन्दा करिब दश लाख खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । अघिल्ला बर्षहरुमा अंगुर नबिक्दा कृषकहरुलाई समस्या हुने गरेको थियो ।
बर्षभरी दुःख कष्ट गरेर जोगाएको अंगुर ग्राहक नपाउँदा कम मूल्यमा बेच्नुपर्ने र सित्तैमा बाँड्नुपर्ने अवस्था आउने गरेको थियो । नगरपालिकाले सम्पुर्ण कृषकहरुले उत्पादन गरेको अंगुर किन्ने निर्णयले आफुहरु धेरै उत्साहित भएको त्रिपुराकोटका अंगुर कृषक कमल हमालले बताउनुभयो ।
यो निर्णयले कृषकहरुको पसिना पुछेकाले प्रत्येक बर्ष नगरपालिकाले यसैगरि एकमुष्ट रुपमा किन्न आग्रह पनि हमालले गरे । नगरपालिकालाई फलफुलमा आत्मनिर्भर गराउने उदेश्यले पुर्व मेयर स्वर्गीय ओमबहादुर बुढाले भारतको नासिकबाट अंगुर ल्याएर कृषकलाई व्यवसायिक रुपमा खेती गर्न लगाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्