संसद सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सांसदहरुको सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सांसदहरूले अवरुद्ध सङ्घीय संसद्को बैठक सञ्चालन गर्न सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकमा बोल्ने सांसदहरूले लामो समयदेखि अवरुद्ध राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी पहलकदमी लिनुपर्ने बताउनुभएको नेता रामकृष्ण यादवले जानकारी दिनुभयो ।
पछिल्लो समय यही साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरण सम्बन्धमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । लामो समय सदन अवरुद्ध हुँदा महत्त्वपूर्ण विधेयकको पारित प्रक्रिया अघि बढ्न नसकेको र जनजीविकाका सवाल उठाउन नपाएका सम्बन्धमा सांसदहरूले धारणा व्यक्त गर्नुभएको थियो ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले देशभरि फैलिएको डेङ्गी रोग र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोगको सङ्क्रमणको आवश्यक औषधि उपचार व्यवस्था गरी रोकथाम तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
बैठकमा सांसदहरूले देशव्यापीरूपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले तत्काल कार्य गर्नाका साथै पीडित किसानलाई उचित राहत एवं क्षतिपूर्ति दिनसमेत सरकारसँग माग गर्नुभएको थियो ।
सांसदहरूले बाढीपहिरो र डुबान प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको अविलम्ब व्यवस्था गर्न, ध्वस्त भएका, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण गर्न, विभिन्न स्थानमा अवरुद्ध भएका सडक यातायात अविलम्ब सञ्चालन गर्नसमेत माग गर्नुभएको थियो ।
यसैगरी बैठकमा सांसदहरूले सो पार्टीका सांसद डा सुनिल शर्माको पक्राउ अप्रत्यासित एवं आपत्तिजनक भएको बताउनुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार सांसद शर्मालाई शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसुरमा निवासबाटै पक्राउ गरेको थियो । सांसदहरूले पक्राउ पूर्जी नै नदिइकन उहाँलाई पक्राउ गर्नु गैरकानुनी भएको भनी टिप्पणी गर्नुभएको कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिनुभयो । यस सन्दर्भमा थप जानकारी लिई कांग्रेस संसदीय दलले भोलिको बैठकबाट धारणा प्रष्ट पार्ने जनाएको छ ।
बैठकमा आज ३० सांसदहरूले आआफ्नो धारणा राख्नुभएको थियो । सोमबार बस्ने बैठकमा महामन्त्री, उपसभापति र सभापतिले आआफ्नो धारणा राख्नुहुने र बैठक सम्पन्न हुनेछ । कांग्रेस संसदीय दलको बैठक साउन २९ गते बिहान ११ बजे सङ्घीय संसद् भवन, ल्होत्से हल बानेश्वरमा पुनःबस्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.