नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलियो

आसपासको वस्तीमा जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

नवलपुर- नवलपरासी पूर्वको नारायणी नदीमा बाढी आउन थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएका छन ।

नारायणी नदीमा पानीको सतह बढदै जान थालेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन नवलपरासी पूर्वका जिल्ला प्रशासन कार्यालय प्रमुख कल्पना श्रेष्ठले आग्रह गर्नुभएकाे छ।

गैंडाकोट, देवचुुली, कावासोती, मध्यबिन्दू नगरपालिकाका १४ वटा वडा र विनयीत्रिवेणी गाउँपालिकाका तीनवटा वडा नारायणी नदीका कारण उच्च जोखिममा परेका छन् ।

भारी वर्षाले नारायणी नदीमा बाढी आउन थालेपछि आज गण्डक ब्यारेजको ३६ वटै ढोका खोलिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयाे ।

पश्चिम नवलपरासीका धेरै वस्ती बाढीको डुबानमा पर्ने भएकाले पश्चिम नवलपरासी प्रशासनले समेत ब्यारेजका ढोका खोल्न भारत सरकारलाई आग्रह गरेपछि सबै ३६ वटा ढोका खोलिएको हो ।

बाढीले गतवर्ष नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई विस्थापित बनाएको थियो भने अहिले पनि वर्षा भैरहेकाले धेरै विस्थापित हुन सक्ने भन्दै प्रशासनले उच्च सर्तकता अपनाउन पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालय प्रमुख विश्व प्रकाश अर्यालले आग्रह गर्नुभएकाे छ ।

नारायणी नदीमा बाढी आउने क्रम जारी रहेकाले भोलिसम्म गण्डक ब्यारेजका ३६ वटै ढोका खुला राख्नुपर्ने अबस्था रहेको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । अहिले नारायणी नदीमा प्रति सेकेण्ड आठलाख क्युसेक पानी बगेको छ । यसलाई खतराको सङ्केत मानिन्छ ।

खतराको सङ्केत देखिएपछि नारायणी नदीको गण्डक ब्यारेजका सबै ढोका खोलिएको पश्चिम नवलपरासीका प्रमुख अर्यालले बताउनुभयाे ।

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेर बाढी आउने जोखिम बढेपछि नदी तटीय क्षेत्रका स्थानीय वासिन्दाहरु चिन्तित बनेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.