दर्ता नविकरण नभएका गोरखाका क्रसर र वालुवा प्रशोधन उद्योगहरु बन्द गर्ने निर्णय

गोरखा- दर्ता नविकरण नभएका गोरखाका क्रसर र वालुवा प्रशोधन उद्योगहरु बन्द हुने भएका छन् । ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा ब्यवस्थापन सम्बन्धी जिल्ला अनुगमन समितिको बुधवार बसेको बैठकले गत असार मसान्तसम्म दर्ता वा नविकरण नभएका सम्पूर्ण उद्योगहरु बन्द गर्ने निर्णय गरेको हो ।

समितिले स्थानीय तहहरुमा सञ्चालनमा रहेका क्रसर तथा वालुवा प्रशोधन उद्योगहरु नविकरण भए नभएकोबारे पर्यटन तथा उद्योग कार्यालयबाट विवरण मागेको थियो ।

कार्यालयले गत असार मसान्तसम्म जिल्लाभित्रका कुनै पनि क्रसर तथा बालुवा प्रशोधन उद्योग नविकरण नभएको जानकारी गराएको जिल्ला समन्वय समितिका सूचना अधिकारी सुकदेव नेपालीले बताउनुभयो ।

जिल्ला अनुगमन समितिमा यसबारे छलफल गर्दा नविकरण नभएका उद्योगहरु बन्द गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । स्थानीय तहहरुले क्रसर र वालुवा प्रशोधन उद्योगको स्विकृति दिँदा कार्ययोजना अनिवार्य रपमा पेश गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।

जिल्ला अनुगमन समितिको बैठकले नियमानुसार सञ्चालनमा रहेका क्रसर र वालुवा प्रशोधन उद्योगलाई ढुंगा, गिटी, वालुवा बिक्री तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनुसार कच्चा पदार्थ संकलनको स्रोत सहितको विवरण भदौ मसान्तभित्र बुझाउन पनि निर्देशन गरेको छ ।

ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा ब्यवस्थापन सम्बन्धी जिल्ला अनुगमन समितिले पन्थडिही कटहरे हर्मी सडक योजना सञ्चालनार्थ अस्थायी क्रसर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको जिल्ला समन्वय समितिका सूचना अधिकारी नेपालीले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा ब्यवस्थापन सम्बन्धी जिल्ला अनुगमन समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहका प्रमुख, सुरक्षा समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.