लक्ष्यको ३० दशमलब २६ प्रतिशत बढी राजस्व सङ्कलन: रसुवा भन्सार
रसुवा- चालु आर्थिक बर्षको पहिलो महिनामा रसुवा भन्सार कार्यालय टिमुरेले लक्ष्य भन्दा तीस दशमलब २६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०८०-०८१ को साउन महिनामा राखेको लक्ष्यको तीस दशमलब २६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।
भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम प्रसाद पाठकका अनुसार साउन महिनामा कार्यालयले एक अर्ब तीन करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साउन महिनमा ७९ करोड ८० लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको तुलनामा २५ करोड १५ लाख ३३ हजार रुपैयाँले बढी हो ।
कार्यालयले पाँच करोड ३९ लाख ३२ हजार रुपैयाँ भने साउन महिनामा ब्यापारीहरुबाट सामानको बर्गीकरण घोषणा फरक, उत्पती मूलक फरक तथा मूल्य थप बापतको रकम असुली भएको जनाएको छ ।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ११ अर्ब ९४ करोड २८ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । रसुवा भन्सार कार्यालयले साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्री जस्ता विविध सामग्रीहरुको निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ ।
प्रतिक्रिया राख्नुहोस्