पाँच सय केजी आतसबाजी/पटकासहित एक पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानूनीरूपमा भारतबाट पटका, भुइँ चम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्नेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–१९ घर भई हाल ललितपुर महानगरपालिका सानेपा बस्ने २८ वर्षीय जीतेन्द्रकुमार जैसवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ललितपुर जिल्लामा केही व्यक्तिले गैरकानूनीरूपमा भारतबाट पटका, भुइँचम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका जैसवालले भाडामा लिई गोदाम बनाई राखेको कोठाबाट प्रहरीले ३१ वटा बोरामा रहेका रकेट बम, किङ कोब्रा, फायर यर्कस, सिभाकासीसमेत लेखिएको पाँच सय केजीभन्दा बढी विभिन्न किसिमका आतसबाजी/पटका बरामद गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

निज जैसवाललाई पक्राउ गरी विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.