हिल्सा-सुर्खेत सडक बन्नेमा विश्वस्त रहन प्रधानमन्त्री दाहालको आग्रह

सुर्खेत- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चीनदेखि कर्णाली जोड्ने हिल्सा–सुर्खेत सडक यसै पटक बन्नेमा विश्वस्त रहन आग्रह गर्नु भएको छ ।

आज कर्णाली प्रदेश स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले कर्णाली करिडोर, कर्णाली राजमार्ग भेरी करिडोरलगायतका ठूला सडकलाई प्राथमिकतामा राखेर चीन सरकारको भ्रमणका क्रममा थप प्राथमिक पाउने गरी आफु लाग्ने बताउनु भयो ।

उहाँले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रुपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने बताउनु भयो ।

जनयुद्धको नेतृत्व कर्णालीमै बसेर गरेको आफुलाई ताजै रहेको भन्दै उहाँले कर्णालीको गरिबी र भूगोलका बारेमा जानकार रहेको जनाउनु भयो ।

उहाँले कर्णाली, सुदूर पश्चिम र मधेश प्रदेशको समुन्नत विकास नगरि देशको समृद्धि नहुने भएकाले उच्च प्राथमिकतामा राखेर अघि बढेकोसमेत उल्लेख गर्नु भयो ।

परिमार्जनसहित संघीय शिक्षा ऐन, सहमतिका आधारमा निजामति ऐन अन्तिम चरणमा पुगिसकेकाले छिट्टै संसदमा प्रस्तुत गरि पारित गर्ने तयारी रहेको उहाँले जानकारी दिनु भयो ।

संघीय शासन प्रणालीको मूल मर्म नै लोकतान्त्रिक लाभको समानुपातिक, समावेशी र न्यायोचित वितरणलाई आम जनतासम्म बिस्तार गर्नु भएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

कार्यक्रममा कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको वस्तुस्थिती बुझ्नु भएका प्रधानमन्त्री दाहालले कर्णालीको समृद्धिका लागि आफ्नै पालामा केही गरेर देखाउनु हुनेमा आफु विश्वस्त रहेको जिकिर गर्नु भयो ।

कार्यक्रममा कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेल, पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले समेत प्रदेश राजधानीसुर्खेतदेखि चीन सीमा नाकासम्म पुग्ने सडक र हाल रहेका विमानस्थलहरुको स्तरोन्नती गरिदिन प्रधानमन्त्री आग्रह गर्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.