स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताउनुभएको छ ।
स्व गिरिको प्रथम स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उहाँ समाजवादका बारेमा धेरै बुझेका मान्छे भएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँ बिपी पछिका समाजवाद बुझेको नेता हो । समाजवादका बारेमा भन्न सक्ने र ब्याख्या गर्न सक्ने नेता हो । त्यसैले उहाँले लेखेका कुरा र विचार हाम्रो पार्टीले ‘कम्पाइल्ड’ गरेर राख्नुपर्छ ।”
स्व प्रदीप गिरि अध्ययनकर्ता मेहिनती र धेरै राजनीतिक ज्ञान भएको नेता भएको बताउँदै सभापति देउवाले उहाँ सधैँ प्रजातन्त्रको पक्षमा रहनुभएको उल्लेख गर्नुभयो । “प्रजातान्त्रिक समाजवाद बहुदलमा विश्वास गर्ने स्व नेता गिरिले सधैँ सहयोग गर्नुभयो तर मन्त्रिपरिषद्मा बस्नुुस् भन्दा मान्नु भएन”, सभापति देउवाले स्मरण गर्नुभयो ।
कांग्रेसमा कदमजम (कर्णाली, दलित, मधेसी, जनजाती, महिला) पनि स्व नेता गिरिकै धारणा भएको भन्दै सभापति देउवाले उहाँ सच्चा मानेमा समावेशीताको पक्षधर नेता भएको बताउनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले स्व गिरिले मधेस र पहिचानका आन्दोलनलाई अधिकारको आन्दोलन भनी सधैँ समर्थन गर्नुभएको स्मरण गर्नुभयो । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्व गिरि लोकतन्त्रका लागि सङ्घर्षरत अभियन्ता भएको बताउँदै उहाँका योगदानलाई लिपीबद्ध गर्नुपर्ने सुझाव दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) घनश्याम भुसालले स्व गिरि माक्र्सवादका बारेमा कम्युनिष्टभन्दा बढी जानकार व्यक्तित्व भएको बताउँदै माक्र्सवादप्रति उहाँको लगाव पनि उत्तिकै रहेको उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले स्व गिरिका चिन्तनका बारेमा छलफल गर्न विभिन्न दलका नेता एकै मञ्चमा उपस्थित हुनु उहाँप्रति सम्मान भएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस नेता एवं केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, कांग्रेस केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्मा र कांग्रेस केन्द्रीय सदस्य एवं स्कूल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महर, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झा, स्व गिरिका धर्मपत्नी भारती सिलवाल गिरिगायतले स्व प्रदीप गिरिको राजनीतिक विचार र उहाँको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.